स्याङ्जा नागडाँडामा रहेको भालुपहाडको कर्भ इम्प्रुभ गर्ने क्रममा रातको समयमा केही युवा आएर दैनिक मजदुरी गरि जिविका चलाउने डोजर चालकमाथी हातपात गरेका छन्।
सडक डिभिजन पोखराले सिफारिस गरि जिल्ला प्रशासन कार्यालय स्याङ्जाको स्विकृतिमा वैशाख १७ गतेदेखि वैशाख २५ गते सम्मको लागि राती १०ः०० बजेबाट विहान ३ः०० बजेसम्मको लागि घुम्ती कटान तथा बाटो चक्लाउनको लागि प्रदिप जुम्ली जेभी कम्पनीले अनुमती पाएको थियो।
त्यसैअनुरुप बाटो चक्लाउने क्रममा विवाहमा गएर फर्केको बताउने केही युवाहरुले डोजर चालक कृष्ण मगर माथी हातपात गरेका छन्।
घाइते मगरका अनुसार “रातको समयमा हामीले बाटो चक्लाउनले काम गर्दैै थियौं। विवाहको बस आयो, उसलाई बाटो खोलिदियौं र करिब १५ मिनेटपछि वाइक र ट्याक्सीमा १०–१५ जना जति केटाहरु आए। उनिहरुले राती किन डोजर चलाएर बाटो बन्द गरेको भने, मैले राती १० बजेबाट विहान ३ बजेसम्म सिफारिस लिएर काम गरेको भन्दाभन्दै उनिहरुले आक्रमक शैलीमा मलाई हातपात गरे” उनले भने।
फेदिखोला चौकीका प्रमुखका अनुसार राङखोला विवाहमा गएर फर्केका युवाहरुले पहिलो दिन भएर होला, जानकारी नभएको कारण उनिहरु आक्रोशमा आएर सामान्य झगडा भएको हो। चोटपटक लागेको छैन। हामी त्यहाँ पुगेर झगडा मिलाएर फर्किएका हौं। डोजर चालकले आफूलाई असुरक्षित महशुस भएको भन्दै डोजर साइडमा लगाए त्यसपछि काम भएको छैन, उनले भने।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीले राती पौने ११ बजेतिर जानकारी पाउनसाथ फेदी खोला प्रहरीलाई घटना स्थलमा पठाइएको बताए। घटना मिलिसकेको भएर होला अहिले कुनै जानकारी आएको छैन, उनले भने। शान्ति सुरक्षाको लागि स्याङ्जा प्रहरी तम्तयार रहेको हुँदा ढुक्कसँग काम गर्न अनुरोध गरेका थिए।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वेलुका काम गर्दा बाटो अवरुद्ध नहोस् र काम समयमा नै होस् भनी रातको समयमा काम गर्नको लागि अनुमति दिएको बताएको छ।

रातको समयमा काम गर्दा भएको घटनाले आफूहरुलाई असुरक्षित महशुस भएको भन्दै स्याङ्जा प्रशासनले सुरक्षित बातावरण तयार गर्न नसकेको खण्डमा रातिको समयमा काम गर्न नसकिने कम्पनीले बताएको छ।