लाइफकेयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर पोखराले एक विज्ञप्ती प्रकाशित गरी शुभचिन्तक तथा सेवाग्रहीहरुलाई अनगर्ल प्रचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
गण्डकी प्रदेश सांसद खिम विक्रम शाहीको नाममा प्राप्त कोभिड–१९ पिसिआर को रिपोर्ट पोजेटिभ आएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको प्रतिक्रिया र आशंका प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लाइफकेयरले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरेको छ।
उक्त विज्ञप्तीमा शाहीको नमुना लाइफकेयरमा सुरक्षित रहेको र आवश्यक परेमा छानविनमा सम्बन्धित पक्षलाई सहयोग गर्न तयार रहेको समेत उल्लेख गरिएको छ।
पेशागत मर्यादाप्रति जिम्मेवार रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्दै राजनीतिक जोडघटाउमा कुनै आइनो–साइनो नरहेको लाइफकेयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा.लिका सञ्चालक तथा क्लिनिकल वायोकेमिस्ट डा.अमर नागिलाले बताएका छन्। उनले सेवाग्रही र शुभचिन्तकहरु ढुक्क भई अनावश्यक अनगर्ल प्रचारप्रसारको भ्रममा नपर्न अनुरोध गरेका छन्।
सांसद शाहीको स्वाब जाँच गर्दा गण्डकी प्रदेशको ल्याबबाट नेगेटिभ रिजल्ट आयो तर लाइफ केयर डाइग्नोस्टिक्सको ल्याबबाट रिजल्ट पोजेटिभ आएको थियो। पुनः आशंका लागेपछि चरक मेमोरियल हस्पिटलले तेस्रोपटक उनको स्वाब गण्डकी प्रदेश ल्याबमा पठाएको थियो। तेस्रो रिपोर्ट पठाउँदा पोजेटिभ आएपछि प्रदेश ल्याब र लाइफ केयर डाइग्नोस्टिक्स ल्याबको रिजल्ट मिलेको थियो।