पोखरा स्याङ्जा रुट अन्तर्गतको सिद्धार्थ राजमार्गमा पर्ने भालुपहाडमा घुम्ती कटान तथा बाटो चक्लाउने काम राती १० बजेबाट विहान ३ः०० बजेसम्म गरिने भएको छ।
भालुपहाडमा कर्भ इम्पु्रभ (घुम्ती कटान) गर्दा अझै लामो समय लाग्ने र दिउँसो काम गर्दा सवारी साधन सञ्चालनमा बाधा पुग्ने भएकाले वैशाख १७ गतेदेखि वैशाख २५ गते सम्म राती काम गर्न लागिएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वेलुका काम गर्दा बाटो अवरुद्ध नहोस् र काम समयमा नै होस् भनी रातको समयमा काम गर्नको लागि अनुमति दिएको बताएको छ।

सडक डिभिजन पोखराका डिभिजन प्रमुख सि.डि.ई. सुनिलवावु पन्तले दिवा समयमा काम गर्न असहज र यात्रुहरुलाई पर्ने समस्या कम गर्नको लागि रातको समय थप गरि कर्भ इम्पु्रभ गर्न सिफारिस गरिएको बताए।
प्रमुख सिडिई पन्लेले काम गर्ने क्रममा कडा चट्टान हुनु र तल्लो भागमा ठूलो खोला हुनुले गर्दा काममा समस्या आइपरेको उनले बताएका छन्। “ढुंगा र माटो खोलामा फाल्दा खोला पुरिएर नजिकै रहेका खेतियोग्य जमिनमा समेत प्रत्यक्ष असर पार्ने भएकोले ढुंगा र माटोलाई व्यवस्थित गर्दा काममा ढिला भएको हो,” उनले भने।
सिद्धार्थ राजमार्ग अन्तर्गत रहेको नागडाँडा भालुपहाड सडक खण्डको कर्भ इम्पु्रभको काम प्रदिप जुम्ली जेभी कम्पनीले गर्दै आइरहेको छ।
बाटो चक्लाउने क्रममा भिआपी एवम् अत्यावश्यक सेवाका गाडीहरु आउँदा उनिहरुलाई बाटो खोल्नको लागि विभिन्न निकायबाट फोन आउने र खोल्नु पर्ने समस्याले गर्दा पनि काम समयमा गर्न नसकिएको कम्पनीले जनाएको छ। रातीको समयमा बाटो चक्लाउदा काममा चाडो हुने र यात्रामा कुनै अप्ठ्यारो नपर्ने भएकोले काम गर्न थालिएको कम्पनीले बताएको छ। राती १० बजेबाट ३ बजेसम्म बाटो बन्द हुनेभएकोले उक्त समयमा यात्रा नगरि सहयोग गर्नसमेत कम्पनीले अनुरोध गरेकोछ।