विश्वभर महामारी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो चरणले भारतमा विकराल रुप लिएपछि नेपालमा पनि दैनिकी कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि केन्द्र सरकारको निर्णय अनुसार नेपालका पोखरा लगायत १४ शहरमा आजबाट निषेधाज्ञा जारी गरिएको छ।
यो निषेधाज्ञा वैशाख २१ गते राती १२ बजेसम्म चल्ने कास्की प्रशासनले बताएको छ।
पोखरामा विहानैबाट चोक चोक र गल्ली गल्लीमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेनुका साथै चेकजाँचलाई तिव्र पारिएको छ।
कास्की जिल्लाले सार्वजनिक तथा नीजि सवारीलको जोरविजोर लागु गरेसँगै नियम उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारीलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी वेलुका फिर्ता गरिने प्रहरी स्रोतले बताएको छ।
आज विजोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । आज तुलनात्मक रुपमा कम सवारी चलेका छन्। जिल्ला प्रशासन कास्कीले अत्यावश्यक बाहेक अन्य पसल सञ्चालन नगर्न आग्रह गरेकोछ।

के के सञ्चालन गर्न पाइन्छ ?

औषधि एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने जारी बताइएको छ। यस्तै, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
होटेल तथा रेस्टुरेन्टमा टेकअवे सेवा मात्र अर्थात होम डेलिभरि एवं होटलमा बसेर खान नपाइने, लिन आउने ग्राहकलाई दिने गरि सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, १५ जना भन्दा बढी भेला भएर जन्ती, मलामी जान नपाइने, मनोरञ्जन तथा खेलहरु, पार्टी प्यालेस सबै बन्द हुने आदेशमा उल्लेख छ । विवाह बढीमा १५ जना सहभागी गराएर घरमै गरिनेलाई मात्र स्वीकृति दिइने प्रशासनले जनाएको छ ।
यसैगरी बैंकहरु नेपाल राष्ट्रबैंकको समन्वयमा शाखा प्रवन्धकले न्यूतनतम् कर्मचारी राखेर सञ्चालन गर्ने, विद्यालय, शैक्षिक संस्था र परीक्षाहरु यस अवधिभर सबै स्थगित गरिने भएको छ ।
प्रशासनको निर्देशनमा मंगलबार साँझदेखि नै प्रहरी परिचालन, महानगरपालिकाले माइकिङ गरेर आजदेखि निषेधाज्ञा जारी गरिएको जनाएको छ । प्रहरीले मंगलबार साँझदेखि नै खटिएर अत्यावश्यक बाहेकका पसल भोलिदेखि बन्द गर्न निर्देशन दिइसकिएको छ ।
प्रशासनको आदेश अवज्ञा भएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० एवं प्रचलित कानून बमोजिम कार्वाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छन् ।