राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व पोखरामा सम्मानित भएका छन्।
माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा राससकर्मी बास्तोला सम्मानित भएका हुन् ।
पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका छन् ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेको कोभिड–१९ को पोखरामा दोश्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ लाग्न उनले अपिल गरे ।
सम्पूर्ण पोखरेलीहरुले कोरोनाका हेलचक्राई नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी सतर्कता अपनाउनुहुन आग्रह गरे ।
पोखरामा केही दिन यता गरिएको परीक्षणको आधारमा २० वर्ष उमेरका वालवालिका तथा युवामा कोरोनाको उच्च जोखिम देखिएको उल्लेख गर्दै प्रमुख जिसीले यही अवस्थामा सङ्क्रमण बढेमा पोखरामा ‘सेल्फ डकडाउन’ हुने बताए ।
कार्यक्रममा मेयर जिसीले समाजद्धारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सवैको साथ र सहयोगको आवश्यकता औल्याए ।
समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले समाजको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।