यातायात व्यवस्था कार्यालय सवारी कास्कीले एक सूचना प्रकाशित गर्दै
कालो प्लेट बाहेकका सवारीले यात्रु तथा ढुवानी गरेको पाइएमा कारवाही हुने जानकारी गराएको छ।
गण्डकी प्रदेश भित्र हाल रुट जारी भएका भाडाका सवारी साधनहरुले कानुनी प्रक्रिया पुरा गरी यात्रुहरुलाई सार्वजनिक सेवा प्रदान गरिरहँदा केही रातो प्लेटका निजी सवारी साधनहरुले नियम विपरित यात्रुहरुलाई ओसार पोसार गर्ने, सामान बोक्ने जस्ता गतिविधि गरेको गुनासो आएकोले अव उप्रान्त यस्ता कार्य नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ।
कालो प्लेट बाहेकका अन्य सवारी साधनले भाडामा लगाउने, यात्रु ओसार–पसार गर्ने गरेको पाइएमा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।
विगत लामो समयदेखि गण्डकी ढुवानी प्रा.लि.ले कालो प्लेट र रातो प्लेटका सवारीहरुलाई जुन प्रयोजनको लागि खरिद गरिन्छ, त्यसै अनुरुप चलाउनको अपिल गर्दै आइरहेको थियो। केही ठाउँहरुमा ढुवानीका सञ्चालक समिति सदस्य लगायत मिडियाकर्मी सहित रंगेहात पक्राउ परेका केही निजी सवारीलाई अब उप्रान्त भाडामा प्रयोगमा नगर्ने शर्तमा छोडिएको गण्डकी ढुवानी प्रा.लि.का अध्यक्ष राम बहादुर तामाङ (शिवु)ले बताए।
अध्यक्ष तामाङले “कालो प्लेटका सवारी हामीले सञ्चालन गर्दै गर्दा राज्यलाई तिनुपर्ने, रुट इजाजत, परमिट लगायत अन्य सम्पूर्ण कर तिरी सञ्चालन गरेका छौं। रातो प्लेटले न कर तिर्नु पर्छ, न इजाजत लिनु नै पर्छ, अनि यातायात व्यवस्था कार्यालयको नियम विपरित उनिहरुले भाडाका सवारी झैं गरी काम गर्दा हामी जस्तो कालो प्लेट सञ्चालन गर्ने व्यवसायीहरु मार परेको छौं” भने।
व्यवसायी रामचन्द्र पौडेल, भानुभक्त बरालले सामाजिक सञ्जालमा यसरी सूचना प्रकाशित गर्नुमात्र सफल योजना नभएकोले “अहिले सम्म कतिवटालाई कारवाही भयो ? सूचनाले भएन सम्बन्धित निकाय अनुगमनमा निस्कनुप¥यो” भनेका छन्।
त्यसैगरी पत्रकार यदुनाथ बञ्जाराले “सूचना पूरा कार्यान्वयन हुनुपर्छ” भनेका छन्। भने प्रमोद शर्माले “सर यो पेपरमा लेखेर भित्तामा टासेर रातो प्लेटहरुले मान्छे बोक्न छोड्दैनन्। यसको लागि चोक चोकमा बसेर समात्न प¥यो कि कसो ?” भनेका छन्।
आर.ए.एस. सोनिया सप्लायर्सका सञ्चालक मनोज रसाइलीले रातो प्लेटका गाडीहरु चलाउने उद्योग तथा क्रसर व्यवसायीहरुले घरमा नै गएर ढुवानीका सामाग्रीहरु रड, सिमेन्ट, बालुवा, गिट्टीहरु अनलोड गर्दा काला प्लेटका ढुवानी व्यवसायीहरुलाई प्रत्यक्ष मार परेको छ। भने कृषि प्रयोजनका लागि भन्सार छुट गरेर आएका ट्याक्टरहरुले ढुवानी गर्नु भनेको नियम उल्लङ्घन गर्नु हो, यस विषयमा सम्बन्धित निकायले चासो दिनुपर्छ, भनेका छन्।








