पदम श्रेष्ठ÷बाघपाइला
पोखराः पोखरामा लामो समय पछि अहिले आएर खानेपानीमा एकाएक समस्या देखिएको छ।
पोखरामा अधिकांश भागमा आलोपालो गरि खानेपानी दिइएको बताइएपनि कहि ३ दिनमा १ पटक झर्छ त कहि हप्ताको १ पटक पानी झरेको पाइएको छ।
पोखरामा दैनिक ६ करोड लिटर जति आवश्यक पर्ने भएपनि दैनिक ३ करोड लिटर पानी वितरण गरिएको खानेपानी संस्थानका सूचना अधिकारी दिनेश यादव बताउछन्।
पोखरामा पानी आउने मुहानहरु कालीखोला, फेदीखोला, मर्दीखोला, फुस्रे खोला, तालधारा आदि भएपनि ३ वटा मुहान सुकेको र त्यहाँबाट पानी नआएकोले पोखरामा पानीको हाहाकार भएको यादव बताउछन्।
आफू निरन्तर पानीको हाहाकारलाई न्युनिकरणका लागिपरेपनि मुहानै सुकेका कारण तत्कालै समाधान हुन नसक्ने उनले बताए। अबको विकल्प भनेको ‘आकाशबाट पानी परे केही सहज होला’ उनले भने।
पोखरेलीहरुले दैनिकी वोरिङको पानी मगाएर खान बाध्य हुँदा अहिले कतै खानेपानी संस्थान र खानेपानी ट्याङ्कर (बोरिङ)को मिलेमतोमा त यस्तो गरिएको हैन भनेर जनगुनासो रहेको छ।
यस विषयमा सुचना अधिकारी यादवले आफूले पनि सुनेको तर यस्ता झुठा हल्ला फिजाइएको हो, कसैसँग मिलेमतोमा नभई खानेपानी मुहानकै समस्याले यस्तो अवस्था आएको उनले बताए।
पानी ट्याङ्कर (बोरिङ)ले ४ हजार लिटर पानीको १ हजार रुपैयाँ, ८ हजार लिटर पानीको ११ सय रुपैयाँ र १५ सय लिटर पानीको ५ सय रुपैयाँ लिदै आएका छन्। यसरी दैनिक बोरिङको पानी किन्दा एउटा सामान्य घरपरिवारले हप्ता २ चोटी नै मगाएपनि महिनामा ८ हजार रुपैयाँ भन्दा बढी रकम बोरिङलाई बुझाउन बाध्य भएका छन्।
पोखरामा खानेपानी समस्या रहिरहदा अहिले मिटरमा मोटर जोडेर सञ्चालन गर्ने काम तिव्र बृद्धि भएको छ। जसले गर्दा मोटर चलाउने बाहेक अन्य घरवरिपरि पानी आउन बन्द हुन्छ तर खानेपानी संस्थानको मोटर चलाउनेलाई कारवाही नगर्दा समस्या झन बढ्दै गएको छ। खानेपानी संस्थान भन्छ, ‘खडेरी सिजन भएकोले अहिले हामीले मोटर चलाउनेलाई कारवाही गरेका छैनौं।’
सामान्यतया खानेपानीको मिटरमा मोटर जोड्न पाइदैन, जोडेको खण्डमा मोटर सिच गर्ने देखि केही रकम जरिवाना सम्म गर्न सक्छ। तर यसरी खानेपानी संस्थानले नै कारवाही नगर्दा कहि कतै मोटर जोड्ने व्यक्तिसँग कर्मचारीको मिलेमतो त छैन भन्ने प्रश्न उब्जिएको छ। सम्बन्धित निकायले यसविषयमा चासो राख्नुपर्ने अवस्था आएको छ।








