अमृत लामा फाउण्डेशनद्वारा पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका विच बधाई ज्ञापन गरेको छ।
लामा अमृत फाउण्डेशनको आयोजनामा नवनिर्वाचित पदाधिकारी भेटघाट कार्यक्रममा फाउण्डेशनका सञ्चालक अमृत गुरुङले हालै सम्पन्न अधिवेशनबाट नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई खादा, अबिर र पुष्पगुच्छा दिई बधाई ज्ञापन गरेका थिए।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ भनेको श्रमजीवी पत्रकारहरुको संगठन भएकोले कुनै राजनीतिक रंग नदिई साझा मुद्धा उठाएर अगाडि बढ्ने बताइन्। “महासंघ भित्र छिरिसकेपछि आफ्ना राजनैतिक विचारधारालाई वाहिरनै राखेर महासंघलाई उत्कृष्ट शाखा बनाउने तर्फ हामी लाग्नुपर्छ”, उनले भनिन्।
महासंघलाई व्यवस्थित बनाउनको लागि प्रविधिमैत्री बनाउँदै अगाडि बढ्नुका साथै अग्रज र सल्लाहकारको साथ र सहयोग लिई अघिल्लो कार्यकालमा गर्दै गर्दा बाँकी रहेका कामलाई पुन सुचारु गरि अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताइन्।
त्यसैगरी उनले “पत्रकारिता क्षेत्रमा लामो समय योगदान पु¥याउनु हुने अग्रज एवम् साथीहरु प्रतिस्पर्धाको क्रममा टिम भित्र नभएपनि विषेशज्ञको रुपमा राखी उहाँहरुको अनुभवलाई महासंघ भित्र राखेर काम गर्ने बाचा गर्छु” भनिन्।
उनले महासंघमा पहिलो पटक महिलाले नेतृत्व गर्दै गर्दा संघर्ष गर्दै अगाडि बढेका महिला साथीहरुलाई अबका दिनमा सहज महशुस भएको अनुभव भएको छ भन्ने विश्वास लिएको समेत जानकारी गराएकी थिइन्।
उक्त कार्यक्रममा अमृत लामा फाउण्डेशनले गरेका सामाजिक कामको चर्चा गर्दै ग्रामीण क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनको लागि अगाडि बढ्दै गरेको फाउण्डेशनले आगामी दिनमा आवश्यक अनुसार आफ्नो नेतृत्वको टिमले सहयोग गर्ने बताइन्।
त्यसैगरी उक्त कार्यक्रममा लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
उक्त बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित सहसचिव श्रीराम सिक्देल, समावेशी सहसचिव रेम विक, महिला सदस्य सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्य पदम श्रेष्ठ, र खुला सदस्यहरु गीता रानामगर, धन बहादुर गुरुङ (सुमन), युवराज गुरुङ (युनिश), सन्तोष सुवेदी, सन्तोष बस्याल, प्रभु अधिकारी लगायतको सहभागिता रहेको थियो ।










