शुक्ला साहित्य प्रतिष्ठान पोखराले प्राज्ञ डा. जगमान गुरुङलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी १० औं संस्करणको शुक्ला साहित्य पुरस्कारद्धारा प्राज्ञ डा. गुरुङलाई राष्ट्रिय सम्मान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
नेपाली संस्कार, संस्कृति र इतिहासको क्षेत्रमा गहनतम अध्ययन गर्नुका साथै इतिहास, संस्कृति र परम्पराका सुक्ष्म विश्लेषण गर्दै, राष्ट्रियता राष्ट्रिय एकता, भौगोलिक अखण्डता एवम् जातिय सद्भावको अभिवृद्धिमा पु¥याएको योगदान र अनुसन्धानमा क्रियशिल रहेका प्रा.डा.गुरुङलाई शुक्ला साहित्य पुरस्कारद्वारा सम्मान गर्न पाउदा खुसी भएको आयोजक कमिटीले बताएको थियो।
संस्थाका अध्यक्ष सुमनराज पौडेलले नेपाली कला साहित्य र नेपाली मौलिक संस्कृतीसंग आबद्ध व्यक्तित्वहरुलाई राष्ट्रिय सम्मान गदै आएको बताए ।
यस्तै १० औं राष्ट्रिय पुरस्कार छनोट उपसमितिका संयोजक राम बहादुर बानियाले विभिन्न व्यक्तित्वहरुमा यस पटक प्राज्ञ डा.गुरुङलाई राष्ट्रिय सम्मानका लागि छनोट गरेको जानकारी दिए ।
प्राज्ञ डा. गुरुङ वि.सं. २००४ साउन २४ गते कास्कीको याङ्जाकोटमा जन्मिएका हुन् । नेपाली इतिहास संस्कृति र पुरातत्व विषयमा त्रि.वि.बाट एम.ए गरेका गुरुङ चिनिँया तिब्बत ज्योतिषशास्त्रमा पि.एच.डी र विश्व ज्योतिष विद्यापिठ कलकत्ताबाट शिक्षा हाँसील गरेका छन्।
उनका गुरुङ जाति तथा संस्कृति–२०३४, नेपाल एकिकरणमा गुरुङहरुको भुमिका–२०४४, वलो (मुस्ताङ) को साँस्कृतिक सम्पदा–२०५७, नेपालको राष्ट्रिय एकिकरणको परिपेक्ष्यमा गण्डकी प्रश्रवण प्रतिवेदन गोष्ठीपत्र तथा लेख आदि कृति प्रकाशित भएका छन् ।








