कार्कीनेटा सम्पर्क समाज पोखराले विहीबार सम्पर्क कार्यालयको शुभारम्भ गरेको छ।
पोखरा महानगरपालिका वडा नं. १७ स्थित ओशोधारा ध्यान केन्द्र रहेको भवनमा समाजले सम्पर्क कार्यालय स्थापना गरेको हो।
सम्पर्क समाजका संस्थापक अध्यक्ष प्रेम प्रसाद शर्माले ब्यानरमा हस्ताक्षर गरी कार्यालयको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै सामान्य कार्यक्रम गर्नकोलागि होटल, रेष्टुरेष्ट धाउनुपर्ने अवस्था नआओस् भनी न्यूनतम शुल्क संस्थाले तिर्ने गरी कार्यालयको स्थापना गरेको उनले बताए।
संस्था जन्माउनु मात्र ठूलो नभई जोगाउनु सबैभन्दा महत्वपूर्ण भएकोले करिब १ सय जना सम्म अट्ने हल भएकोले अन्य औपचारिक कार्यक्रमको लागि सहज हुनुका साथै ध्यान केन्द्र एउटा पवित्र स्थल भएकोले शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्फूर्त बनाउनको लागि हुने मेडिटेशनमा समेत सहभागी हुन सहयोग पुग्ने हुँदा ध्यान केन्द्र नै सम्पूर्ण कार्यसमितिको रोजाई भएको समेत शर्माले बताएका थिए।
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा उद्घाटन गरिएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव हरिप्रसाद शर्माले गरेका थिए भने संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।