पर्वतको मोदी गाउँपालिकामा ७ दिने नेतृत्व विकास तथा पत्रकारिता तालिम सुरु भएको छद्ध।
उद्घोषण, भाषणकला, क्षमता विकास तथा आधारभुत पत्रकारिताको तालिम दिई नेतृत्वदायी सक्षम र सवल युवा निर्माणको लागि कार्य गरिएको आयोजकले बताएको छ ।
मोदी गाउँपालिकाको आयोजना तथा मोदी दलित दलित संजालको समन्वयमा उक्त तालिम आजबाट सुरु भएको हो । तालिम उद्घाटन समारोहमा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले दलित सशक्तीकरणका लागि पालिकाले उल्लेखनीय कार्य गरेको बताउनुभएको छ । दलितको उत्थान र उनिहरुको चेतना तथा क्षमता विकासका लागि पालिकाले उक्त तालिम आयोजना गरेको बताउदै सहभागीहरुलाई सिकाइमा जोड दिदै सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरे ।
दलित जातिको पुख्र्यौली पेशा अन्य जातिले अवलम्बन गरेको बताउदै त्यस्ता पेशाहरुको संरक्षण र प्रबर्द्धनमा दलित संजालले चासो दिनुपर्ने पौडेलले बताए । उनले भने “परियार जातिको सिलाउने तथा बाजा बजाउने पेशा अन्य गैरदलितले गर्न थाले, विश्वकर्मा, नेपाली लगायतका जातिले गर्दै आएका पुर्खेउली पेशा अन्य जातिले अवलम्बन गरेका छन् ।” समाजका हरेक कार्यमा दलितहरुको अहम् भुमिका रहेको उनको भनाइ थियो ।
जातीय विभेदरहित समाज निर्माणका लागि आफ्नो भरपुर प्रयास रहेको अध्यक्ष पौडेलले बताउनुभयो । दलितको लागि छुट्टाएको रकम पारदर्शी रुपमा सहि सदुपयोग गर्दै प्रभावकारी,फलदायी कार्य संचालन गर्न दलित संजाललाई पौडेलले आग्रह गरे ।
उपाध्यक्ष सेती महतले दलितको चेतनाको विकास संगै नेतृत्व र व्यक्तित्व विकासमा तालिमले मद्दत पु¥याउने बताउनुभयो । महिला तथा दलित सशक्तीकरणका लागि महिला तथा दलित लक्षित कार्य संचालन गरिएको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले उक्त तालिमले बोल्ने कला सर्वोत्कृष्ट कला भएको बताउदै सूचना र अभिव्यक्तिका लागि बोल्ने कलाको विकास गर्नुपर्नेमा जोड दिएका थिए । तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी रामदाम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। तालिममा मोदी गाउँपालिकाका करिब २० जना दलित युवायुवतीहरुको सहभागीता रहेको छ ।
चैत १९ देखि २५ गतेसम्म ७ दिन संचालन हुने तालिममा अहिंसावादी रेडियो पर्वतका कार्यक्रम संयोजक तथा स्वतन्त्र पोस्ट अनलाइन पत्रिकाका प्रधान सम्पादक लक्ष्मण विश्वकर्मा र रेडियो कुसुमका कार्यक्रम संयोजक तथा स्वतन्त्र पोस्ट अनलाइन पत्रिकाका सम्पादक दिपेश विश्वकर्माले सहजीकरण गर्नेछन् । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मोदी दलित संजालका अध्यक्ष चन्द रामदामको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संजालकि सचिव सीता बिकले गरेका थिए ।