कास्की : नेपाल पर्यटन बोर्डको प्रबद्र्धन, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण आयोजना(एक्याप) साथै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आर्थिक सहकार्यमा अखिल नेपाल पर्यटन मजदुर संघले आयोजना गरेको भुज्रुङ्गखोला–घलेखर्क–तारा हिलटप पदमार्गको प्रबदर््धन गर्ने उदेश्य साथ चैत १० गते पोखरा बाट प्रस्थान गरेको टिम पहिलोदिन घलेखर्क पुगेर बिबिध प्रबद्र्धनात्मक कार्यक्रम गरेको थियो।
पोखराका विभिन्न ट्रेकिङ कम्पनीमा रहेर कामगर्ने गाइडहरु, पर्यटन ब्यबसायी, संचारकर्मीहरु सम्मीलित टिमलाई घलेगाउँको आमा टोलिले स्वागत गरेको थियो। प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नयाँ गाइड तथा सहयोगीहरुलाई पदमार्ग र यस्को महत्व तथा इतिहास बुझाउने, बाटो झुक्किने ठाउँमा इनामेल बाट संकेत चिन्हहरु लगाउने, बाटोमा यत्रतत्र फालिएको प्लास्टिकजन्य पÞmोहोरहरु टिप्ने र उचित ब्यबस्थापन गर्ने, स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरु संग अन्तक्रिया गर्ने लगायतका कार्यहरू पर्ने संयोजक प्रकाश ढुंगानाले बताए।
माछापुच्छ्रे गाउँपालिकाको घलेखर्कमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका वरिष्ठ अधिकृत तथा कार्यालय प्रमुख काशी राज भण्डारीले सुन्दर तर विभिन्न कारणबस ओझेलमा परेका यस्ता गन्तव्यहरुको प्रबद्र्धनमा आफू साझेदार बन्नपाँउदा खुशीलागेको बताए। मौलिकता, र संस्कृति जोगाउन सकेमात्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने सकिनेमा उनले जोड दिए।

आन्तरिक पर्यटन पुनस्र्थान कमिटी गण्डकी प्रदेशका संयोजक अग्नि कंडेलले पर्यटन दिगोहुनुपर्ने तथा स्थानीयको जनजिबिकासंग जोडिनुपर्नेमा जोडदिदै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
दुई महिला पथ–प्रदर्शक सहित २० जना उक्त प्रबद्र्धनात्मक टोलिमा रहेको अखिल नेपाल पर्यटन मजदुर संघ, कास्की जिल्ला अध्यक्ष श्री धन बहादुर तामाङले बताए। उक्त टोलि चैत ११ गते माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाको सिमानामा पर्ने रमणीय स्थल तारा हिलटप (२८०० मि) पुगेको थियो।
दोस्रो पुनहिलको उपमा समेत पाएको यस स्थानबाट अन्नपूर्ण र मनासलु हिमशृङ्खलाका हिउँचुचुरोहरुको मनमोहक दृश्य देखिन्छ। पोखरा बजारको केहि भाग, काहु धरहरा, पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थलको सुन्दर दृश्य समेत देखिन्छ।छत्रे उन्यु, विभिन्न प्रजातिका लालिगुरांसको घना जंगल, फलांट, लेकाली चांप, विभिन्न प्रजातिका सुनाखरी, सयौं प्रजातिका चराचुरुङ्गी र अन्य बन्यजन्तुले भरिपुर्ण यो पदमार्गमा बिदेशी पर्यटकको लागि महत्वपूर्ण त छदैछ नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, नीतिनिर्माताहरु समेत एकपटक पुग्नपर्ने गन्तव्य भएको टोलीका सदस्य तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ल्वाङका पर्यटन सहायक अधिकृत शिव देबकोटाले बताए।
चैत १२ गते तारा हिलटपबाट बिहान सुर्योदय तथा मनोरम अन्नपूर्ण र मनाश्लु हिमालको दृष्याबलोकन गरि मादी गाउँपालिका वडा नं १ सिकलेसमा आएर एक अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो। केहिबर्ष अगाडिसम्म निकै चर्चित र लोकप्रिय भुज्रुङ्गखोला, घलेखर्क, तारा हिलटप, सिकलेस पदमार्ग हालैका केहि समय देखि क्रमशः ओझेलमा परेको छ।
जताततै अव्यवस्थित रूपमा खनिएका धुलाम्य सडकहरु, अत्यधिक रूपमा दोहन गरिएका तथा स्वरुपनै परिवर्तन गरिएका प्रसिद्ध सेती नदि र सहायक खोलानाला, हाइड्रोपावर र नदिजन्य पदार्थको अत्यधिक उत्खनन गरेर कुरुप बनाइएको मादी नदिका कारण प्रायःजसो बिदेशी ट्राभल एजेन्ट्स हरुले यो पदमार्गलाई आफ्नो नियमित गन्तव्य सुचीबाट हटाइसकेका छन्। बेलायत, अमेरिका लगायतका बिशेष गरि क्याम्पिङ ट्रेक मन पराउने देशमा पनि नयाँ पुस्ताका पर्यटकहरु होटल÷लज÷होमस्टेमा नै बस्न रुचाउँछन र आर्थिक रूपमा पनि यो सस्तो पर्न जान्छ।

नेपालमा परम्परागत पदमार्गहरु नासिदै मासिदै गइरहेको अबस्थामा पोखराको नजिकै रहेको यो सुन्दर गन्तव्य तीन देखि पाँचदिन सम्मको पदयात्राको लागि अत्यन्तै उपयुक्त हुनसक्ने देखिन्छ। माथि उल्लेखित कारण बस साबिक बमोजिम आठ वा दसदिनको प्याकेज बेच्न नसकेपनि भुज्रुङ्गखोला–सिकलेस सम्मको भागले आफ्नो मौलिकता र साख जोगाएको देखिन्छ।
एक स्थानीयका अनुसार– ‘मुख्य समस्या भनेकोनै तारा हिलटप (२८००मि) मा खाने तथा सुत्ने आवासको ब्यबस्था र खानेपानीको अभाव नै हो। तारा हिलटप माछापुच्छ्रे गाउँपालिका वडा नं २ र मादी गाउँपालिका वडा नं १ को सिमानामा रहेको, सरकारी स्वामित्वमा रहेतापनि उपयोगका हिसाबले दुई वडाको विवाद रहेको छ’ उनले भने।
अन्तक्रियामा भाग लिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, सिकलेस कार्यालयका प्रमुख उत्सब न्यौपानेले दिगो ब्यबस्थापन सहित तारा हिलटपको बिकाश हुनुपर्नेमा जोडदिए। संरक्षण ब्यबस्थापन समितिका अध्यक्ष श्री गेहेन्द्र गुरुङले घलेखर्क र सिक्लेसका सरोकारवाला मिलेरनै उचित निष्कर्षमा पुगिने बताए।
टोलि सोही दिन पोखरा आइपुगेको र अखिल नेपाल ट्रेड युनियन महासंघ, पृथ्वीचोकमा एक विशेष कार्यक्रम गरि प्रबद्र्धनात्मक यात्रा समापन गरिएको अखिल नेपाल पर्यटन मजदुर संघ, कास्की जिल्ला अध्यक्ष धन बहादुर तामाङले बताए।








