प्राकृतिक सुन्दरताको लागि विश्वमै प्रसिद्व पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईड यति खेर कोरोना कहरले गर्दा सुनसान बनेको छ। चीनको बुहानबाट फैलिएको कोरोनाले विश्वभरको पर्यटनसँगै नेपाल र पोखराको पर्यटन बजार पनि ध्वस्त पारेको छ। पोखराको लेकसाईड अंग्रेजी नयाँबर्षमा झकिझकाउ हुनेगथ्र्यो। स्वेदशी र विदेशी पर्यटकहरु सडकमा खाएर, सडकमा नाचगान गरेर आनन्द लिने पर्व मनाउन लेकसाईडमा आईपुगेका हुन्थे। तर यसपालि कोरोनाले गर्दा लेकसाईड विदेशी पर्यटन बिहीन बन्न पुगेको छ। स्वदेशी र विदेशी पर्यटक नआउदा अर्बौ लगानी रहेको पर्यटन क्षेत्रमा धेरैको उठिवास भएको छ।
व्यवसायीहरु ऋण र व्याज तिर्न नसकेर होटलको तालाचावी घरमालिक र बैंकलाई बुझाउँदै हिड्न बाध्य छन्। देशको अर्थतन्त्रमा ठुलो योगदान दिने पर्यटन मार्फत देशको समृद्धिमा योगदान दिन्छु भन्नेहरु आफै विचल्लीमा परेका छन्।
अबौंको लगानी र हजारौं मानिसको आम्दानीको स्रोत सुकेपछि धेरै कामदारको काम खोसिएको छ। कामदारहरु परिवारको पेटपाल्न बैकल्पिक पेशा अंगाल्न बाध्य छन्।
होटल, रेष्टुरेण्ट, प्याराग्लाईडिङ, डुंगा व्यवसायी, हस्तकला, यातायात, पदमार्ग लगायतका क्षेत्रमा कोरोनाको कारण अबौं रुपयाँको लगानी जोखिममा परेको छ।
कोरोना महामारीले विश्वभरको पर्यटन ठप्प भएकोले पर्यटन क्षेत्रको लागि यो सबैभन्दा ठुलो महासंकट हो। यस्तो संकटबाट मुक्ति पाउन पर्यटन व्यवसायीहरुको एकल प्रयासले मात्रै सम्भव हुदैन। यसका लागि राज्यले बिशेष राहत र सहयोगका कार्यक्रम ल्याउनुपर्छ। व्यवसायीहरुले होटल संचालन गर्दा बैंकबाट लिएको व्याजको मिनाहा गर्नेदेखि वेरोजगारहरुलाई बैकल्पिक पेशा गरी आय आर्जनका लागि सहयोग गर्ने बातावरण बनाउने काम गर्नुपर्छ।