पोखराका उपभोक्ता अधिकारकर्मी र राज्यका निकाय बेखवर,

सरकारी संस्थालाई कर्मचारीको कमाई खाने थलो बनाईदै

पदम श्रेष्ठ/पोखरा

बिदाको दिन बिशेष सेवा भन्दै हिमालय आँखा अस्पताल घारीपाटनका स्वास्थ्यकर्मी र कर्मचारीले बिरामीसँग बढि रकम उठाएर भागवण्डा गरेर लिने गरेका छन् ।
आँखा अस्पतालमा शनिबारका दिन नयाँ दर्ता वापत बिरामीसँग चारसँग असुलेर अस्पतालका खातामा एक सय रुपयाँ जम्मा गरेर तीन सय रुपयाँ आफुहरुले बाँडिचुडि खाने गरेका हुन् ।
अस्पतालको स्रोत साधन प्रयोग गरेर बिरामीसँग बढि रकम असुलेर ढाड सेक्दै आएपनि पोखराका उपभोक्ता, नागरिक समाज र राज्यका सरोकारवाला निकाय मौन छन्।


शनिबार नयाँ दर्तालाई ४ सय रुपैयाँ लिइन्छ, जसमा १ सय रुपैयाँ हस्पिटलको खातामा जम्मा गरिन्छ भने ३ सय रुपयाँ कर्मचारीहरुको खल्तीमा जाने गर्छ । बिरामीले अर्थात उपभोक्ताले आफुले तिरेको रकम बराबरको रसिद पाउनुपर्ने र सेवाप्रदायक संस्थाले आफुले रकम लिए बराबरको रसिद दिनुपर्ने भएपनि अस्पतालले रसिद दिने गरेको छैन । शनिबार स्पेशल क्लिनिक कार्डको पछाडि रु.४००।– को छाप मात्र हानेर दिइने गरेको पाइएको छ ।
शनिबार विहानै ७ः०० बजेको समयमा एकजना सेवाग्राही आँखामा चोट लागेका कारण इमरजेन्सीमा उपचार गराउन पुगे तर आँखा अस्पतालका एक कर्मचारीले विरामीलाई अस्पतालको टिकट काउण्टर खुलेपछि मात्र आउनु भनी पठाइयो र उनि हस्पिटल बाहिर रहेको एक क्लिनकमा गई आइड्रप र सन ग्लास लगाएर पीडामा छट्पटाउँदै बसे । जब ९ बज्यो तब मात्र उनले टिकट पाए । उनि भन्छन् “इमरजेन्सी सेवा नलिई ओपीडिको काउण्टरबाट टिकट दिनेभए किन इमरजेन्सी उपचार भनेर राख्नुप¥यो” उनले आक्रोस व्यक्त गरे। यो त एउटा घटना हो आखा अस्पतालको । यसरी इमजेन्सीका विरामीलाई अफिस टाइम बाहेक अन्य समयमा उपचार किन गराउन आनकान गर्छ आँखा अस्पताल ?

आँखा अस्पतालमा छैनन् सूचना अधिकारी ?

नेपालमा सूचनाको हक सम्बन्धी ऐन २०६४ जारी भई कार्यान्वयनमा आएका १३ वर्ष पूरा भइसक्दा पनि कतिपय सार्वजनिक निकायहरु उक्त ऐन कार्यान्वयन गर्न आनाकानी गर्दै आएका छन् । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्दा आफूले गरेका अनियमितता बाहिरिने डरले यो ऐन कार्यान्वयन गर्न आलटाल गर्ने गरेको पाइन्छ ।
हिमालय आँखा अस्पताल पोखरा सार्वजनिक निकाय भएर पनि उसले आज सम्म सूचना अधिकारी तोकेर नियमानुसार राख्नुपर्ने सूचना अधिकारीको सूचना पाटी राखेको छैन । अस्पताल प्रशासनसँग पटक पटक सूचना अधिकारी राख्न अनुरोध गर्दा मुखले हुन्छ भन्ने तर काम भने गरेको छैनन् । सूचना अधिकारी को हुन भन्ने पहिचान नहुँदा सेवाग्राहीलाई हस्पिटलका सेवा प्रवाहबारे जानकारी लगायतका विभिन्न सूचना र जानकारी पाउन कठिन परेको छ ।


त्यसैगरी शनिबारै दिन करिब ११ः०० बजे एक महिला सेवाग्राहीले टिकट मागिन्। काउण्टरबाट टिकटको मुल्य ४ सय भनेपछि उनले अन्य समयमा १ सय आज किन ४ सय भन्दा पुनः काउण्टरबाट १ सयको टिकट लिन भोली होलीले विदा छ पर्सी आउनुस् र उपचार गर्नुस् भन्ने जवाफ आयो। उनी केही नबोली ५ सयको नोट दिएर १ सय फिर्ता लिईन् र रसिद मागिन्, काउण्टरबाट तपाईले लिएको कार्डको पछाडि ४ सय को छाप लगाएको छ भन्ने जवाफ आयो, अनि निन्याउरो अनुहार बनाउँदै ३ नं. कोठा तर्फ लागिन्।
हाम्रो बाघपाइला टिमले किन यस्तो गरिन्छ भनेर विल काउण्टर शाखामा रहेका एक कर्मचारीसँग सोध्दा उनले ४ सय नै खातामा इन्ट्रि गर्दा अडिटमा समस्या हुने तथा कर्मचारीलाई शनिबार उठेको रकम बाड्न अप्ठ्यारो हुने कारणले गर्दा विल नदिइएको उनले स्विकारे। “शनिबार उठेको रकमको प्रति व्यक्ति ३ सय रुपैयाँ क्लिनर देखि डाक्टर सम्म पुग्छ।” उनले भने।
मेडिकल डाइरेक्टर डा.ईन्द्रमान महर्जनले राजिनामा दिए पश्चात केही समय अगाडि आएकी का.मु.एम.डि. डा.एलिया श्रेष्ठसँग कुरा गर्दा उनले भनिन् “म भर्खरै आएकोछु, पहिला बनाएको म्यानेजमेण्ट के कसरी बनाइएको हो त्यस बारेमा सम्पूर्ण जानकारी पाइसकेको छैन। सायद कम्प्युटरमा इण्डिया कम्पनीबाट दर्ता इन्ट्रि सिस्टम बनाइएकोले त्यसलाई परिवर्तन गर्न असहज भएकोले हुन सक्छ। शनिबार अन्य अस्पतालमा पनि एक्स्ट्रा सर्भिस दिएजस्तै होला, शनिबार हिमालयन आँखा अस्पतालले दिएको सुविधामा इमरजेन्सी मात्र नभई विद्यार्थी, अफिसमा काम गर्ने कर्मचारीहरु र अन्यलाई पनि सेवा दिने हेतुले अस्पतालका डाक्टर तथा अन्य कर्मचारीहरुलाई थप पारिश्रमिक सुविधा दिएर दिएको हनुसक्छ” उनले भनिन्।
डा.श्रेष्ठले शनिबार लिइने प्रतिव्यक्ति दर्ता रकम ४ सय भएपनि १ सय अस्पतालको खातामा जम्मा हुने र अन्य ३ सय रकम उक्त दिनमा आएका कर्मचारीहरु डाक्टर देखि क्लिनरसम्म सबैलाई पारिश्रमिक वापत वाडिएको उनले भनिन्।
शनिबार कम्तिमा ८० जना बढी विरामीहरु उपचार गराउन आँखा अस्पताल आउछन् र प्रत्येकले ४ सय को दरमा रकम बुझाउछन्। उक्त पैसामा १ सयमात्र हस्पिटलको खातामा राखि अन्य रकम दर्ता शाखा, ओपीडि शाखा, चश्मा पसल, औषधि पसल, क्लिनर र डाक्टरहरुलाई बाड्नु किमार्थ राम्रो हो भनेर भन्न सकिन्न।
आइतबार देखि शुक्रबारको समयमा नयाँ दर्ता शुल्क १ सय, पुरानो दर्ता ५०, एपोइन्मेन्ट क्लिनिक दर्ता नयाँ रु.३ सय, विशेषज्ञ सेवा १ सय र आकस्मिक सेवाको १ सय लिएर रसिद दिइन्छ। यो रकम हस्पिटलको खातामा उल्लेख गरिन्छ। तर शनिबार उठाइने शुल्कमा मात्र १ सय अस्पतालको खातामा राख्ने गरिएको छ। अन्य रकमको बारेमा जानकारी गराइदैन। यसरी सेवाग्रही र नेपाल सरकारकै आँखामा छारो हाल्दा नियमनकारी निकाय किन मौन भइरहेको छ ? यो चासोको विषय बनेको छ।