डहरे देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी फलेवास नगरपालिका स्तरीय माध्यमिक तहको खुल्ला वक्तृत्व कला तथा आधारभूत तहको म्यूजिकल चियर प्रतियोगिता संचालन गर्ने भएको छ । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी यहि चैत्र २० गते फलेवास नगरपालिका–२, थापाठानामा मा.वि. स्तरीय “समुदायमा सहकारीको भूमिका” विषयमा माध्यमिक तहको खुल्ला वक्तृत्व कला प्रतियोगिता संचालन गर्न लागेको संस्थाका शिक्षा समितिका संयोजक विष्णु प्रसाद शर्माले जानकारी दिए । फलेवास नगरपालिकाको सहकार्य र डहरे देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा फलेवास नगरपालिका भित्र संचालित १५ बटा मा.वि. सहभागी गराउने साथै फलेवास न.पा. १, २, ३ र ९ मा रहेका आधारभूत तहको म्यूजिकल चियर प्रतियोगिता पनि सहभागि गराउने जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई आकर्षक नगद पुरस्कार साथै प्रमाणपत्रको व्यवस्था गरिएको शिक्षा समितिका संयोजक शर्माले बताए ।
छोटो समयमा नै ग्रामिण क्षेत्रमा उत्कृष्ट पहिचान कमाउन सफल डहरे देउराली सहकारीले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ ।








