हिजोआज समाजमा मानवताको भावना हराएको पाईन्छ । जसले गर्दा बिकृती र बिसंगती बढेको देखिन्छ । समाजमा विभिन्न खाले अपराध हुनु र घटना घट्नुमा पनि मानवता शून्य भएकाले हुने गर्दछ । स्याङ्जामा धेरै आत्महत्याका घटनाहरु बृद्धि भएकोमा सबै पक्ष चिन्तित देखिन्छन् । यस्ता खाले सबै घटना बढ्नुमा मानवताको कमी भएकाले हुने गरेको प्रहरीको दावी छ । दिन प्रतिदिन कैयौं मान्छेहरुले अकालमा ज्यान गुमाइरहेका छन् । यस्तै अकालमा ज्यान गुमाउन पुगेका छन्ः गल्याङका एक १९ बर्षिय युवक गणेश गाहा ।
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाइते भएका एक युवक बेपत्ता भएका छन् । गल्याङ नगरपालिका वडा नं ९ पारिचौरस्थित बेल्चौर साँखर कच्ची सडक खण्डमा चैत ५ गते लु.अ.अ.फ. १०२० नं (अस्थायी नं) को ट्याक्टरका सहचालक गणेश गाहा बेपत्ता भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार चैत ५ गते राति १० बजे कालीगण्डकी घाटदेखि ढुंगा लोड गरी हिडेको उक्त ट्याक्टरबाट गाहा खस्दा घाइते भएका थिए। घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र सोही ट्याक्टरका अर्का सहचालक सुनिल रानाले सोही ट्याक्टरमा राखी कालीगण्डकीमा लागी फालेका थिए । यो घटनापछी स्थानीयहरु चिन्तित छन् । आफुसंगै काम गर्ने सहकर्मी ट्याक्टरबाट खसी घाईते हुदां छिटो भन्दा छिटो अस्पताल पु¥याउनुपर्नेमा उल्टो नदीमा लगेर फ्याक्नुले समाजमा मानवता हराएको स्थानीयहरु बताउछन् ।
घटनाको जनाकारी प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोलीले खोजतसाल गर्दा अहिलेसम्म बेपत्ता गाहालाई फेला परेको छैन । बेपत्ता गाहाको खोजतलास गर्न गोताखोर ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । घटनामा संलग्न सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले उक्त घटनाको जानकारी आफ्नी दिदीलाई गराएपछि यो घटना बाहिर आएको हो । रानालाई प्रहरीले ज्यान मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ । फारार ट्याक्टर चालक अमित परियारको खोजी गरिरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
यतिखेर यो घटनाको चौतर्फी आलाचना भएको छ । दैनिक ज्याला–मजदूरीमा जीवन गुजार्ने मृतक गाहाको परिवारको अवस्था निकै दयनीय छ । मानव अव मानव रहेन, दानवत्वले सोचाइँमा, बोलाईमा, व्यवहारमा, क्रियाकलापमा, पूर्णतया राज गरी सक्यो भन्छन्ः स्थानीय नारायण प्रसाद ज्ञावली । पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था नआओस भनेर अहिले स्थानीयहरु आन्दोलीत छन् । अदालतसम्म पुगेका मुद्दामा पनि न्याय टाढा बनेको छ भन्दै स्थानीय शिवप्रसाद खनालले दुखेसो पोखे । अदालतमा आँखामा पट्टी बाँधेर, हातमा तराजु बोकेर राखिएको ‘न्यायको मूर्ति’को अर्थ निष्पक्ष न्याय दिलाउनु हो कि तराजुमा जसको शक्ति, पद र पैसा भारी हुन्छ त्यसलाई जिताउनु हो भनेर खनालले प्रतिप्रश्न गरे ।