वालिङ्ग: स्मार्ट सिटीको रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका छन् । वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो ।
नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताहरु प्रति नगरपालिकाको तर्फबाट आभार ब्यक्त गर्दछु ।” नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताए ।
नगरपालिकाले नगरको गुरुयोजना, योजना तथा कार्यान्वयन, आर्थिक आयस्रोत, विकास कार्य, सेवाग्राहीका लागि छिटो छरितो र प्रभावकारी सेवा प्रदान, नगरभित्रका १४ वटा वडामा सूचना प्रविधिमार्फत सेवा प्रवाह, फोहोरमैला उचित व्यवस्थापन, नागरिक सेवा र प्रविधिमा आधुनिकीकरण, समावेशी कार्यक्रम लगायत प्रगतिका आधारका मूल्यांकनका मापदण्ड रहेका थिए । ती सबै मापदण्ड पूरा गरी वालिङ उत्कृष्ट नपा हुन सफल भएको प्रमुख खाँणले जानकारी दिए ।
वालिङ नगरपालिकाले शहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनहरु निर्माण गरी विगत दुई वर्षदेखि कार्यान्वयनका चरणमा रहेको उपप्रमुख कल्पना तिवारीले बताईन् । नगरपालिकाले यहाँका नागरिकहरुलाई विपदजन्य जोखिमका कारण हुनसक्ने संभावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आईरहेको र वर्षायाममा जोखिम संभावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयहरुमा स्थानान्तरण गर्ने कार्य गरिएको तिवारीले जानाकारी दिईन् । पहिरोका कारण विस्थापित परिवारका लागि स्थानीय तहमै विपद ब्यवस्थापन समिति गठन गरी उचित ब्यवस्थापनमा नगरपालिका रहेको तिवारीको भनाई छ ।
यसअघि वालिङ नगरपालिका नेपाल नगरपालिका संघको २३ औं स्थापना दिवसका अवसरमा देशभरका २१७ नगरपालिकामध्ये सर्वोत्कृष्ट घोषित भई रु. एकलाख पुरस्कार प्राप्त गरेको थियो । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, शहरी योजना, सुशासन, फोहोरमैला ब्यवस्थापन लगायतका विषयबस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो । यसअघि संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरको रुपमा वालिङलाई पुरस्कृत गरेको थियो ।
नेपाल नगरपालिका संघले विभिन्न तीन विधामा देशभरका नगरपालिकाहरु मध्येबाट स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट बनेका हुन् ।
वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजश्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।








