पर्वत : पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् ।
स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् ।
विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् ।
आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् । सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् ।
जलजला–२ रातढुङ्गाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् । बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन् । बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन्, खाने, बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर सोही ठाउँको विद्यालयमा जाने गरेकी छन् ।
विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको अवस्था बिजोग रहेको बताए। उनका अनुसार सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको छ । शैक्षिक साम्रगीदेखि ओढ्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान शुरु भएको स्थानीय युवाद्वय नवीन जिसी र रविन जिसीले बताए। उनीहरुलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने स्थानीयवासीले बताएका छन् ।








