पर्वतको फलेवास नगरपालिकामा हात्तीपाइले रोग निवारण अभियान सम्बन्धि नगर स्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
नगरका ११ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, जनप्रतिनिधि, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थितिमा उक्त कार्यक्रम बुधबार भएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मन्जु अधिकारीले नगरमा हात्तीपाइले रोग निवारणका लागि सवै नगरवासी एकजुट भएर लाग्न अनुरोध गरिन्। उनले हात्तिपाइले संक्रमण भएका व्यक्तिले नियमित औषधि सेवन गर्न समेत आग्रह गरेकी छन्। उक्त औषधिले स्वास्थ्यमा असर पार्छ भन्ने गलत धारणलाई त्यागेर हात्तीपाइले रोगबाट बच्नका लागि नगरबासी सबैले औषधि खानुपर्ने अधिकारीले बताइन् ।
नगरका स्वास्थ्य शाखा प्रमुख रुद्र प्रसाद सापकोटाले यो पटक हात्तीपाइले रोग निवारणमा औषधि खुवाउने अभियानलाई विगतका बर्षमा भन्दा अझै प्रभावकारी बनाउने बताउदै नगरका सबै जनतालाई खोजी खोजी नछुटाई औषधि खुवाइने बताउनुभएको छ ।
पर्वतको पाङ र खानीगाउँमा यो बर्ष पनि हात्तीपाइले रोगको नमुना परिक्षणका क्रममा संक्रमण देखिएपछि ११ औ चरणमा चैत २० गतेदेखि फलेवास नगरपालिका सहित जिल्लाभर हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको सापकोटाले जानकारी गराए । दीर्घरोगि, २ बर्ष भन्दा मुनिका बच्चा र गर्भवती तथा सुत्केरी महिला बाहेक अरु सबैले उक्त औषधि खानुपर्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन स्वास्थ्यकर्मीको महत्वपूर्ण जिम्मेवारी भएको बताउदै उक्त रोग निवारण अभियानमा औषधि खुवाउने कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए।
कार्यक्रममा फलेवास नगर अस्पतालका डा. विपल्व अधिकारीले हात्तीपाइले रोग र यसको निवारणमा भैरहेका प्रयासहरुको बारेमा जानकारी गराए । यसैबिच विश्व क्षयरोग दिवसको अवसरमा फलेवास नगरपालिकाको आयोजनामा उक्त रोग निवारणका लागि सरोकारवालाहरुको छलफल सम्पन्न भएको छ । संकेत समयको, क्षयरोग अन्त्यको भन्ने मुलनाराका साथ क्षयरोग दिवस मनाइएको हो । कार्यक्रममा हालको अवस्था बारे जानकारी पनि गराइएको छ ।