विकास राज पौडेल/पर्वत :
हात्तिपाईले रोग निवारण अभियान अन्तरगत औषधी खुवाउने कार्यक्रम चैत २० गतेबाट सञ्चालन हुने भएको ।
२०७७ को सन्र्दभमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो ।
हात्तिपाईले रोग निवारण अभियान अन्र्तगत यस वर्ष जिल्लामा १२ औँ पटक औषधी खुवाउन लागीएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लामा सन २०१० देखि निरन्तर रुपमा हात्ति पाईले रोग विरुद्धको औषधि खुवाउन थालिएको थियो । शुक्रबारबाट हात्तिपाइले रोग विरुद्धको औषधीे खुवाइने अभियानलाई सफल बनाउनका लागि जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्ंयम सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्वतको अवस्थालाई हेर्दा मुख्य गरी कुस्मा नगरपालिका–१ पाङमा केहि मानिसमा देखिएको छ भने फलेवास नगरपालिका–५ खानी गाउँमा पनि वाहिर वाट आएका मानिसमा समस्या रहेको छ । पर्वत जस्तै गण्डकी प्रदेशकै अन्य दुई जिल्ला बागलुङ र लमजुङमा पनि यो पटक पनि औषधि खुवाउने अभियान चल्दै छ।
पर्वतमा पाँच पटकसम्म गरिएका सर्वेक्षणहरू असफल भएका छन्। १२ औँ चरणमा औषधि खुवाएपछि गरिने सर्वेक्षणसमेत असफल भएमा पुन ६ वर्षसम्म पर्वतबासीहरुले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुपर्ने अधिकृत भण्डारीले बताए । सर्वेक्षणका लागि सरकारले सुरुमा तोकेको नियमअनुसार कुनै ठाउँलाई केन्द्र मानेर त्यो ठाउँका बासिन्दाको रगत परीक्षण गरिन्छ।
कुस्मा नगरपालिका–१ पाङमा पाँचौँ पटकसम्म गरिएको सर्वेक्षणमा पनि सङ्क्रमणको दर एक प्रतिशतभन्दा तल नझरेपछि त्यहीँका बासिन्दाका कारण जिल्लाभरका सबै नागरिकले औषधि सेवन गर्नुपर्ने बाध्यता बनेको हो।स्वास्थ्य कार्यालयमा रहेको तथ्याङ्क अनुसार सन २००१ मा गरिएको सर्वेक्षणमा बेसलाई ४.८३ प्रतिशत रहेको थियो अर्थात्। रगत सङ्कलन गरिएकामध्ये त्यत्तिमा हात्तीपाइलेको जीवाणु फेला परेको थियो। सन २०११ बाट औषधि खुवाउन सुरु गरेपछि सर्वेक्षण गर्ने केन्द्रका रुपमा खानीगाउँ र पाङलाई राखियो, औषधि पनि खुवाइयो।सन् २०१४ मा गरिएको सर्वेक्षणमा खानी गाउँमा सङ्क्रमणको अवस्था ०.९७ प्रतिशत आयो भने खानीगाउँको २.५८ प्रतिशत।
एक प्रतिशतमा नझरेपछि औषधि खुवाउने क्रम चलिनै रह्यो। सन २०१६ मा गरिएको परीक्षणमा खानीगाउँको नतिजा ०.६७ र पाङको २.९५ प्रतिशत देखियो।जति औषधि खुवाइयो तर पाङमा सङ्क्रमण झनै बढेको देखियो। सन २०१८ मा गरिएको सर्वेक्षणमा खानी गाउँमा ०.६७ र पाङमा २.९५ प्रतिशत हुँदै पाङको अवस्था खस्कियो। लगातार ११ वर्षसम्म औषधि खुवाएपछि पछिल्लो पटक सन २०२० मा खानीगाउँका तीन सय छ जना र पाङका तीन सय १५ जनाको रगत सङ्कलन गरेर हात्तीपाइलेको परीक्षण गर्दा खानी गाउँमा सङ्क्रमणको अवस्था ०.३२६ र पाङमा झनै बढेर ५.३९ प्रतिशत पुग्यो।
स्वास्थ्य कार्यालय पर्वतले खानी गाउँमा रहेको समस्या हटेर गएको भए पनि पाङको समस्या उस्तै रहेकाले यस चरणको अभियानमा कडाइका साथ औषधि सेवन कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ। यसमा सहकार्य गर्नको लागि कुस्मा नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि समन्वयका लागि निवेदन गरिएको स्वास्थ्य कार्यलयले जनाएको छ । २ वर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवति महिला, दिर्घ रोगि, सिकिस्त विरामीले औषधी सेवन गर्न नहुने बताउदै अन्य सबैले औषधि खान सकिने जानकारी दिए।
कार्यक्रममा जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सपरीडेन्ट डा.डिबी क्षेत्रीले हात्तिपाईले रोग विरुद्धको अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले हात्ति पाईले जटिल स्वास्थ्य समस्या भएकाले रोगबाट बच्नका लागि औषधिको प्रयोगका बारेमा सकरात्मक प्रचार प्रसार गर्न आग्रह गरेका छन्।
पर्वत जिल्लामा यस बर्ष १ लाख २५ हजार जनालाई हात्तिपाइले विरुद्धको औषधी खुवाउने लक्ष राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ।









