पर्वत ः छिमेकी देश भारतमा कोभिड–१९ को संक्रमण तिव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलनसक्ने भन्दै पर्वत जिल्ला सुरक्षामा कडाइ गरिएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयको विज्ञप्तीमार्फत स्वास्थ्य सचेतना अपनाउन अनुरोध गरे सँगै जिल्ला प्रशासन कार्यालय पर्वतले एक सूचना जारी गर्दै पर्वतवासीहरुलाई कोरोना नियन्त्रणमा सहयोग गर्नको लागि अनुरोध गरेको छ।
गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन एवम् जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्वतको बैठकबाट पर्वतवासीहरुलाई सुरक्षित रहनको लागि सुचित गरेको छ।
नजिकिदै गरेको होली पर्व र नयाँवर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट पर्वतवासीहरुलाई सुरक्षित राख्नको लागि अनुरोध गरिएको ५ बुदाँमा सूचनामा लेखिएको छ। उक्त सूचनामा होली पर्व मनाउने क्रममा भीडभाड नगरी सावधानी मनाउन, माक्स लगाउने, सावुन पानीले बेलाबेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, जमघट, मेला महोत्सव सभा नगर्ने, होटल तथा रेष्टुरेष्ट राती ९ः०० बजेपछि बन्द गर्ने, मदिराजन्य पदार्थ वेलुका ८ बजेबाट बन्द गर्ने, सुरक्षित तवरले व्यापार व्यवसाय गर्ने भीडभाड हुन नदिने जस्ता कुराहरु सूचनामा उल्लेख गरिएको छ।