कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा अभियान सोमबारबाट सुरु भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलेले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई बीमाका फारम दिदै सुरु गरेका थिए । कास्कीमा आवद्ध ३ सय भन्दा बढि पत्रकारहरु यो बीमा अभियानबाट लाभान्वित हुने महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी गराए ।
पत्रकार सहित उनका परिवारका ५ जना सदस्यको बीमा निःशुलक गरिने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने बताए । ‘प्रत्येक परिवारको बीमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ, उनले भने। त्यस भन्दा बढि सदस्य भएमा पत्रकार आफैले खर्च व्यहोनु पर्ने छ । जसमा प्रति व्यक्ति ७ सय थप लाग्ने समेत जानकारी गराएका थिए।
उनले स्वास्थ्य बीमाबाट बर्ष सम्म १ लाख सम्मको उपचार खर्च पाइने बताए । थप एक जनाको थपिदा बीमा बापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिका सँगको सहकार्यमा अभियान अगाडी बढाएको बताए । उनले चैत २० गते सम्म अभियान संचालन हुने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तीनका परिवारका सुरक्षालाई ध्यान दिदै अभियानमा साथ दिएको बताए । उनले “बीमा हाम्रो जीवन” भने नारालाई यो अभियानले सफल पार्ने बताए ।
स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्लामा स्वास्थ्य बीमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिले सम्म ४ लाख ६६ हजार जनाले बीमा गरी सकेको बताए । उनले पत्रकार आफ्नो मात्र नभई आफ्नो परिवारलाई समेत स्वास्थ्य बीमामा सहभागि गराउन पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रिविनोद प्रतीक, प्रतिककी धर्मपत्नी तथा पत्रकार महासंघका साधारण सदस्य सावित्री खनाललाई बिमा कार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनाी माधम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिब रामप्रसाद तिमिल्सिना लगाएतले बीमाले पत्रकारलाई निर्धक्क काम गर्ने प्रेरणा दिनेमा जोड दिएका थिए ।