तस्विर: छवि तिवारीको फेसबुकबाट

पर्वतः व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ पर्वतको निर्वाचन करिब २ हजार मत खसेको निर्वाचन मण्डलले जानकारी गराएको छ।
शिवालय माध्यमिक विद्यालयमा शनिबार भएको मतदानमा करिब २ हजार ३ सय मतदाता भएकोमा १ हजार ९ सय ९८ मत खसेको छ |
विहान ८ बजेबाट सुरु भइ साँझ ६ बजेसम्म मतदान गरिएको थियो। सुरुमा व्यवसायीक साझा समूहको तर्फबाट उम्मेदवारी दर्ता गराएका अध्यक्ष एवम् क्र.सं. १ का शिव शर्मा पौडेलले मतदान गरेका थिए।
उम्मद्वारी दर्तामा शिव शर्मा पौडेलको समूह र गोपी अधिकारीको समूहबाट अध्यक्षसहित २३–२३ जना गरी कार्यसमितिको लागि ४६ जनाले दर्ता गराएका छन्।
मतदानका पेटीहरुको मुचुल्का उठाइसकिएको छ। उक्त पेटीहरुलाई उद्योग वाणिज्य संघ पर्वतको कार्यालयमा गणना गरिने स्रोतले जानकारी गराएको छ।
उद्योग व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरु उत्साहपूर्वक सहभागी भएका थिए।
उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनमा हर्षोउल्लासका साथ गाउँगाउँबाट सम्पूर्ण व्यवसायीहरु सहभागी हुनु खुसीको कुरा भएको पर्वत जिल्लाका प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी धनश्याम अधिकारीले व्यक्त गरे। “स्थानीय तथा संसदको चुनावमा भन्दा पनि बढी व्यवसायीहरु चाख लाग्दो तरिकाले संघको चुनावमा शान्तिपूर्ण ढंगबाट सहभागी हुनुभएको छ,” उनले भने।
मतदान गर्न आएका फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाका नगेन्द्र श्रेष्ठले यो निर्वाचन व्यवसायीहरुको हक हितको लागि आवाज बुलन्द गर्ने संस्था भएकोले व्यवसायलाई नै बन्द गरी मतदान गर्न आएको बताए। उनले एक तटष्थरुपमा काम गर्न सक्ने उम्मेद्वारलाई आफूले चयन गरी मतदान गरेको समेत जानकारी गराएका छन्।
त्यसै गरी हुवासबाट मतदान गर्न आएका एक व्यवसायीले मतदान गर्ने बेलामा प्यानलकोे भन्दा पनि ईमान्दार र सक्षम नेतृत्व आवश्यक भएको हुँदा सक्षम व्यक्ति छानि मतदान गरेको बताए।
व्यवसायीहरुको साझा संस्था रहेको संघमा जसको जीत भएपनि स्विकार गरी अगाडि बढ्ने र आगामी दिनमा हातेमालो गर्दै पर्वतलाई उद्योगमैत्री बनाइ अगाडि लैजाने गोपी भट्टराई र शिव पौडेल शर्माको टिमले बाघपाइलालाई जानकारी गराएको छ।
अघिल्ला वर्षमा निर्वाचन गराउनको लागि उद्योग वाणिज्य संघको हलमा भएपनि अहिले मतदाताहरु धेरै उपस्थिति हुने देखिएपछि शिवालय माविमा निर्वाचन स्थल तोकिएको थियो। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले शान्ति सुरक्षाको व्यवस्था कडा पारिएको थियो।