पर्वतः उद्योग व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरु उत्साहपूर्वक सहभागी भएका छन्।
उद्योग वाणिज्य संघ पर्वतको निर्वाचनमा हर्षोउल्लासका साथ गाउँगाउँबाट सम्पूर्ण व्यवसायीहरु सहभागी हुनु खुसीको कुरा भएको पर्वत जिल्लाका प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी धनश्याम अधिकारीले व्यक्त गरे। “स्थानीय तथा संसदको चुनावमा भन्दा पनि बढी व्यवसायीहरु चाख लाग्दो तरिकाले संघको चुनावमा सहभागी हुनुभएको छ।” उनले भने।
उद्योग वाणिज्य संघ पर्वतको शनिबार भएको निर्वाचनमा पछिल्लो आकडा अनुसार १ हजार ५ सय मत झरेको निर्वाचन कमिटिले जानकारी गराएको छ।
मतदान गर्न आएका फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाका नगेन्द्र श्रेष्ठले यो निर्वाचन व्यवसायीहरुको हक हितको लागि आवाज बुलन्द गर्ने संस्था भएकोले व्यवसायलाई नै बन्द गरी मतदान गर्न आएको बताए। उनले एक तटष्थरुपमा काम गर्न सक्ने उम्मेद्वारलाई आफूले चयन गरी मतदान गरेको समेत जानकारी गराएका छन्।
त्यसै गरी हुवासबाट मतदान गर्न आएका एक व्यवसायीले मतदान गर्ने बेलामा प्यानलकोे भन्दा पनि ईमान्दार र सक्षम नेतृत्व आवश्यक भएको हुँदा सक्षम व्यक्ति छानि मतदान गर्ने सोचमा रहेको जानकारी गराएका छन्।
व्यवसायीहरुको साझा संस्था रहेको संघमा जसको जीत भएपनि स्विकार गरी अगाडि बढ्ने र आगामी दिनमा हातेमालो गर्दै पर्वतलाई उद्योगमैत्री बनाइ अगाडि लैजाने गोपी भट्टराई र शिव पौडेल शर्माको टिमले बाघपाइलालाई जानकारी गराएको छ।
दुवै प्यानलले मतदाताहरुलाई निर्वाचन स्थलसम्म ल्याउनको लागि बस र निर्वाचन स्थल नजिकै खानको समेत व्यवस्था गरेका छन्।
अघिल्ला वर्षमा निर्वाचन गराउनको लागि उद्योग वाणिज्य संघको हलमा भएपनि अहिले मतदाताहरु धेरै उपस्थिति हुने देखिएपछि शिवालय मावीमा निर्वाचन स्थल तोकिएको थियो।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कसैलाई पनि कुनै समस्या नपर्ने किसिमबाट निर्वाचन गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी गराएको थियो।

निर्वाचनमा मतदाताहरुको सहभागी हेर्दा करिब २ हजार भन्दा बढी मत खस्ने आकलन गरिएको छ। मतदान स्थलमा ५ बजेम्म प्रवेश गरिसकेका सम्पूर्णलाई मतदानमा सहभागी गराइने निर्वाचन कमिटिले जानकारी गराएको छ।