अधिवक्ता शिवप्रसाद गौतम

मानिस जन्मदै रोयर जन्मन्छ। हाँसेर जन्मेको पाइदैन। पशुको बच्चा जन्मदा रुँदा पनि रुदैन, हास्दा पनि हास्दैन। मानिस किन रुदै जन्मन्छ त ? यस्को उत्तर म दुःखको सागरमा आए भनेर रोएको भनिन्छ। संसारमा जति पनि मानिस छन्, सबै सुख नै चाहन्छन्, दुःख पाउँ कसैले पनि भन्दैन। सुख र दुःख चाहेर पाइने होस् परिस्थितिले ल्याउने हो। सुखको अर्थ शारीरिक र मानसिक आनन्दको अनुभव सबै व्यवहारको चाँजो पाँजो मिलेर हुने प्रिय वा अनुकुल अनुभूति आनन्द हर्ष हो। परोपकार वा धार्मिक कामबाट हुने आनन्द, मनले चिताएको कुराहरु पूर्ण हुँदा मनमा हुने खुसीयाली, प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव, सुविधा, सुविस्ता, समृद्धि, उन्नति, कल्याण, मङ्गल, निरोगी अवस्था, आरोग्य र मनले चिताएका सम्पूर्ण कुराहरु पूर्ण हुन सुख शब्दको अर्थ हो। यो शब्दको विपरितार्थक शब्द दुःख हो। अब दुःख शब्दको अर्थ के हो त्यसको पनि सामान्य जानकारी तर्फ लागौं। आफूले चिताए अनुसार पुगिसरी नआउनु दुःख हो। अर्थात् शारीरिक मानसिक रुपमा हुने पीडा क्लेश, वेदना छटपटि दुःख हो। दुःख तीन किसिमका हुन्छन्। (१) आधिदैविक (२) आध्यात्मिक (३) आधिभौतिक। धन, परिवार र इष्टमित्र चारैतिरबाट सन्तोष पाएको आनन्दी व्यक्ति सुखी हो। दुःखले सताएको, दुःख पाएको, कस्टयुक्त–दरिद्र। दरिद्री, दीन–हीन, गरीब गुरुवा दुःखी हुन्।
मानिस सबै सुख खोज्छन् तर प्राप्त गर्न सक्दैनन्। सुखी हुनु र दुःखी हुनु आफ्नै कर्मको फल हो। मानिस भन्ने गर्छन् सुख दुःख भनेको भाग्यमा निर्भर गर्ने कुरा हो। सुख पाउनेले भाग्यलाई मान्दछन्। दुःख पाउनेले दोष दिन्छन्। यो भाग्य भन्ने कुरा पनि भाववाचक संज्ञा मात्र हो। भाग्य छ भन्दैमा डोकामा दूध दुहेर अडिदैन। दूध दुहेर खान त ढुम्ग्रोमा नै दुहुनुु पर्छ। आखिर यो भाग्य भन्ने कुरा के हो त भन्दा यसको उत्तर हुन्छ। मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रुपमा स्वीकारेको दैवी विधान, सो अनुसारको पुनस (पूर्व जन्म, धर्म तथा पुराण अनुसार अघिल्लो जुनी, पूर्व जन्मको कर्मको फल, प्रेरणा भाग्य) कमाइ प्रारब्धलाई भाग्य मानिएको छ। पुनसमा छैन भने केही पाइँदैन भन्ने कतिको धारणा छ तापनि वैज्ञानिक दृष्टिले यसलाई सत्य मानिएको छैन। भाग्यले साथ दिएकोलाई सुखी र भाग्य राम्रो नभएको, भाग्यले ठगिएको अभागी भाग्यहीन, दुःखी हो।
सुख र दुःखका बारेमा धेरै उखान तुक्काहरु छन्। सुखका तुक्काहरु यस प्रकार छन्। सुखले दुःख खोज्छ, दुःखले काल खोज्छ, सुखको बेला सबै दुःखको बेला कोही न कोही। सुखको साथी सब कोही, दुःखको साथी कोही न कोही, सुख छ भनी नगम्कनु, दुःख प¥यो भने नआत्तिनु। किन भने सुख जहिले पनि क्षणिक हुन्छ। सुख परे खाइलाग्नु दुःख परे छेउ लाग्नु। सुख पाउँदा बाँचिरहँु, दुःख पाउँदा मरिजाउँ भन्नु हुँदैन। सुख भन्न जनसँग, दुःख भन्नु मनसँग। सुख लुकाउन सकिन्छ, दुःख लुकाउन सकिदैन। सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। सुखले अघाइदैन, दुःखले मरिदैन। सुखले दुःख खोज्छ, दुःखले काल खोज्छ। सुखीलाई भइएन, दुःखीलाई रहिएन। सुखीले खोन मीठो–मीठो, दुःखीले खाने पीठो गिठो। दुःखको पोइ ढड्ड नभाको। दुःखको बेला श्रीमती, सुखको बेलाको साथी। दुःखको बेला सबैको हेला। दुःखको मानु, सुखको निन्द्रा। दुःखको साथी मित्र, पक्का मित्र। दुःखको लुतो, सुखको पिलो। सुखीले ईश्वर भुल्छ, दुःखीले ईश्वर सम्झन्छ। दुःख ट¥यो हरिनम भुल्यो। दुःख नगरी सुख हुँदैन। दुःख परेको बेलामा कोरोको पनि पाउ मल्नुपर्छ। दुःख परेमा नरुनु, सुख परेमा नउचालिनु। दुःखमा साथी चिनिन्छ। दुःखी मान्छेलाई दैवले रक्षा गर्छ। सुखी बाँचिरहू भन्छ, दुःखी ओ काल आइजा मलाई लैजा भन्छ। सुख र दुःख एक सिक्काका दुई पाटा हुन्। फटाहा राजनीतिज्ञ सुखी इमान्दार दुःखी। भ्रष्टाचारीहरु सुखी सदाचारीहरु दुःखी हाम्रो नेपालमा। दुःख पाइस मंगले आफ्नै ढंगले आदि उखानहरु छन्। यो कलि युग भएर हो कि एउटालाई दुःख नदिई अर्को खुसी भएको अवस्था छैन। पद प्राप्त गरी खुसी हुने नेताले देश र जनतालाई दुःख दिएका छन्। सुख र दुःख प्राप्तिका साहित्यकारहरुका आफ्नै धारणा छन्। जस्तैः
१) खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ।
आफू मिटाई अरुलाई दिनु जहा छ।
२) गरीब भन्छौ सुखको म झै धनी
मिल्दैन संसार भरी कतै पनि
विलाएको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम।
धनी भन्दा गरीब मान्छे विश्वासिला हुन्छन्। धनीले दुःख देख्दैन। गरीबले सुख देख्छ। कसैलाई नठगी आफ्नो परिश्रमबाट धन आर्जन गर्ने व्यक्ति सुखी हो। राजनीति, उद्योग धन्धा, व्यापार व्यवसाय सञ्चालन गर्नेहरुले भ्रष्टाचार नगरिकन आय आर्जन गर्छन् भने ती सुखी हुन् अन्यथा देशमार, गरीब मारा दुःखी हुन्। असत् कर्म गरेर सुखी हुनु भन्दा सत कर्म गर्दा गर्दै पनि दुःख पाउनु श्रेयस्कर हो। सत कर्म गर्नेहरु सुखी हुन्छन्। असत कर्म गर्ने सदा दुःखी। सुख र दुःख भन्ने कुरा कुमालेका माटाका भाँडा बनाउने चक्र जस्तै हुन्। घुमि रहन्छन्। यो भवसागर संसारमा कोही पनि पूर्ण रुपमा सुखी पनि छैन, दुःखी पनि छैन।
मानिसका चाहना अनगिन्ती छन्। एउटा पूर्ण भए पछि अर्को आहिहाल्छ। प्रयास गर्दै गए चाहना पूरा हुन्छन्। सुख पनि हुन सक्छ। सुख र दुःख प्राप्ति व्यक्तिको नैतिकतामा पनि भर पर्छ। सदाचारबाट आजैको सम्पत्तिले सुख पनि मिल्छ, इज्जत पनि प्राप्त हुन्छ। भ्रष्टचार गरेर देश र जनतालाई रुवाएर धनी हुनेहरुलाई अर्कालाई देखाउँदा क्षणिक आनन्द त लेलान् तर यस्तालाई रातमा निद्रा लाग्दैन, देश र समाजमा इज्जत प्रतिष्ठाका साथ बस्नु सुख हो भने बेइज्जत भएर बाँँच्नु दुःख हो। वर्तमान परिस्थितिमा नेपालका नेताहरुको परिस्थिति यस्तै घिनलाग्दो छ। सबै नेता भनाउँदाहरु घरको न घाटको भएका छन्। यिनीहरुलाई जनताले माया गर्नु छैन। “दुःख पाइस मंगले आफ्नै ढङ्गले” भन्नुपर्छ, हामी सबै यहि भनौं ल। शुभ।