चैत १६, पोखरा २४ ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ जे अन्तर्गत जोन २२ का तीन वटा क्लबहरु, लायन्स क्लब अफ पोखरा वृन्दावन, लायन्स क्लब अफ पोखरा व्युटिसिटी, लायन्स क्लब अफ पोखरा दर्शनको आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. २४ स्थित पामे आधारभूत विद्यालयमा बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरमा २ सय २० जना व्यक्तिहरुले आँखा जाँच, प्रेसर जाँच, मधुमेह जाँच र विविध स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको थियो ।
पोखरा वडा नं. २४ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भरतबहादुर अधिकारीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आयोजक क्लबहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रममा वडाले पनि सहयोग गरिरहेको र आवश्यकताअनुसार सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा रिजन चियर पर्सन तथा ३२५ जे का २०२४।२५ का छनोट गरिएका कोषाध्यक्ष लायन कल्पना थापाले आफूहरू संलग्न क्लब तथा आफूले जन्माएका क्लबहरुले समुदायप्रति देखाएको सेवा भावलाई हार्दिक धन्यवाद दिँदै क्लबहरुको श्री वृद्धिमा जुट्न सम्पूर्ण लायन लिडरहरूलाई आह्वान गरेका थिए ।
मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा प्रत्यक्ष रुपमा ४ जना डाक्टर, ३ जना नर्स र अन्य ३ जना सहकर्मीहरु दिनभर स्वास्थ्य सेवामा खटिएका थिए । साथै क्लबहरुले मनिपाल शिक्षण अस्पतालसँग एमओयु गरेमा क्लवका सदस्य र परिवारहरुको उपचार खर्चमा १० देखि २५ प्रतिशत सम्म छुट र शिविरमा उपचार गरेका विरामीहरुको थप उपचारको लागि डाक्टरहरूको सिफारिस अनुसार १५ देखि २० प्रतिशत छुट दिने मणिपाल शिक्षण अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्ण मोहन श्रेष्ठले जानकारी गराएका थिए ।
जोन चियर लायन सवी शेरचनको संयोजनमा भएको कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ पोखरा दर्शनका अध्यक्ष लायन लक्ष्मी भण्डारी, राष्ट्रिय झण्डाको अभिवादन लायन्स क्लब अफ पोखरा व्युटिसिटीका अध्यक्ष लायन दुर्गा मर्सानी र कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा वृन्दावनका अध्यक्ष लायन अग्निधर त्रिपाठीले गरेका थिए भने लायन्स क्लब अफ पोखरा वृन्दावनका सचिव लायन कृष्ण प्रसाद त्रिपाठीले सञ्चालन गरेका थिए ।