असोज १४, पोखरा ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका छन् ।
छन्याल समाजको खेल मैदान नदीपुर, पोखरामा सम्पन्न भएको प्रतियोगिता यही असोज ९ गतेबाट सुरु भई असोज १३ गते सम्म हुने भनिएपनि वर्षाका कारण फाइनल खेल आज भएको थियो ।
विजयी गल्कोट स्पोर्ट क्लबले १ लाख ११ हजार १ सय ११ नगद र उपविजेता जिएम समाज कावासेतीले ७० हजार ७ सय ७० रुपैयाँ नगद मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी महिला तर्फ विजयी धादिङ स्पोर्ट क्लबले ४५ हजार नगद र उपविजेता पुन युनाइटेड नदिपुरले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा पुरुष तर्फ विधागतमा उत्कृष्ट सटर सन्जु विक्रम शाह (जिएम), उत्कृष्ट सर्भर विवस आले (जिएम), उत्कृष्ट ब्लकर इन्द्र विक (गल्कोट), उत्कृष्ट स्पाइकर किरण गुरौ (जिएम), उत्कृष्ट डिफेन्डर रुञ्जन शाही (गल्कोट), सर्वोत्कृष्ट खेलाडी रेशम छन्त्याल (गल्कोट) र उत्कृष्ट कोच सुरेन्द्र केसी (गल्कोट) रहेकाछन् भने महिला तर्फ उत्कृष्ट सटर जमुना गुरुङ (धादिङ), उत्कृष्ट सर्भर ममता राना (पुन युनाइटेड), उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी (धादिङ), उत्कृष्ट स्पाइकर कोपिला राना (धादिङ), उत्कृष्ट डिफेन्डर रश्मिता दुरा (धादिङ), सर्वोत्कृष्ट खेलाडी रिमा कुँवर (धादिङ) र उत्कृष्ट कोच रमेश केसी (धादिङ) रहेकाछन् । उनिहरुलाई प्रमाणपत्र र ट्र«फीले सम्मान गरिएको थियो ।
उक्त प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ६ टिम सहभागी भएका थिए ।
विगत ७ वर्षदेखि निरन्तर भलिबल खेलको प्रशिक्षण गराउँदै आएको केन्द्रले हाल सम्म सयौं खेलाडीहरु उत्पादन गरिसकेको छ । बढ्दो उमेरसँगै लागु औषध र कुलतमा फस्ने सम्भावना भएका युवाहरुलाई भलिवल प्रशिक्षणको माध्यमबाट उनिहरु भित्र लुकेर रहेको प्रतिभा लाई प्रष्फुटन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने सोंच सहित स्थापना भएको सञ्चालक मनोज खड्का बताउछन् । उनका अनुसार पोखरा भलिबलमा प्रशिक्षण गरी खेलको माध्यमबाट स्वदेश तथा विदेशमा गई भलिबल खेलमा सहभागी भएको बताए । साथै भलिबल खेलकै माध्यमबाट केही युवाहरु भारतिय सेनामा समेत भर्ति भएको जानकारी गराए ।
त्यसैगरी केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्यालले भने, हामीले स्थापनादेखि निरन्तर वार्षिकोत्सवको अवसरमा भलिवल प्रतियोगिता राख्दै आएका छौं । यसबाट खेलाडी खेलाडीहरु विचको प्रतिस्पर्धाले थप ज्ञान मिल्ने र आत्मियता बढाउने उद्देश्य सहित प्रतियोगिता राखेको जानकारी गराए । आगामी वर्षमा पनि निरन्तर प्रतियोगिता गर्ने उनको भनाइ थियो ।
उद्घाटन खेल नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा र समापन खेलमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यतामा भएको थियो । भने पोखरा भलिबल प्रशिक्षण केन्द्रका महासचिव नविन छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा पश्चिमाञ्चल भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङ लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।