काँग्रेसको गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण पोखरामा
पोखरा, ३ फागुन । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ ।
केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, नेपाली काँग्रेसको आयोजना एवम् नेशनल डेमोक्रेटिक इन्स्टिच्युट नेपालको व्यवस्थापनमा फागुन ३ देखि ५ गतेसम्म सञ्चालन हुने प्रशिक्षणको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विरुवामा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले काँग्रेसले देशको आमुल परिवर्तनमा विशिष्ट योगदान गरे पनि आमजनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताए । देशको राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको बताउँदै उनले स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताए। अन्य दलहरूले पिठो विकाइरहे पनि काँग्रेसले चामल समेत विकाउन नसकेको उल्लेख गर्दै उनले नेपाल र नेपाली समाजमा काँग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पु¥याउनुपर्ने आवश्यकता औल्याएका थिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्शका रुपमा लिदै स्थापित काँग्रेस स्थापनाका मूल आदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बन्ने गरेको बताए । काँग्रेसलाई जनताले अनुभुति गर्ने किसिमको बनाउनु जरुरी रहेको उनले जानकारी गराए । काँग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट संकल्पपत्र तयार गरिएको बताउँदै उनले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताए ।
लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतले नेपाली काँग्रेसलाई आम जनतामाझ पु¥याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका पार्टीका उपसभापति सहित क्रमशः ३६ र ५२ जना प्रशिक्षक प्रशिक्षार्थीहरू सहभागी रहेको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
प्रशिक्षक रन्जित आचार्य, डा.सुरेश आचार्य र राजेश्वर सिंहले पहिलो दिन प्रशिक्षकहरुलाई प्रशिक्षण तालिम दिएका थिए । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् कार्यक्रमका अध्यक्ष कल्पना तिवारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । सञ्चालन कमल प्रसाद सापकोटाले गरेका थिए भने समापन लुम्बीनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गरेका थिए ।