फागुन २०, पोखरा ।
मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आज विहान खुल्ला रक्तदान र बधाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष बास्तोलाले मानिसलाई आवश्यक अन्य अंगहरुको विकल्प बनेपनि आजका दिनसम्म व्यक्तिको रगतको विकल्प उही समूहको व्यक्ति नै रहेकोले गर्दा रक्तदान आवश्यक रहेको छ भने, उनले हामीले अन्य पुण्यको कार्य गर्छौं, खेर जाने रगतलाई दान गर्दा एक त शरीर स्वस्थ्य बन्छ, र अर्को तर्फ अकालमा ज्यान गुमाउन लागेको व्यक्तिको ज्यान बच्छ त्यसैले सबैले समयावधिमा रक्तदान गरौं भने ।
अध्यक्ष बाँस्तोलाले गण्डकी प्रदेश भित्र रहेका मुद्रण व्यवसायीहरुको छाता संगठन मध्ये कास्की जिल्लाले विभिन्न समयमा सामाजिक कार्य गरेको र उद्योगहरुलाई व्यवस्थित बनाउन पनि विभिन्न तालिमहरु गर्दै आइरहेको देख्दा खुसी व्यक्त गरेका थिए । साथै, मुद्रण संघ कास्कीले गर्ने हरेक कार्यमा सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
त्यसैगरी मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बाँस्तोलाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए । मुद्रण व्यवसायीहरुलाई सवल बनाउनको लागि आवश्यक रहेको हुँदा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको समेत जानकारी गराएका थिए ।
जिल्ला अध्यक्ष बास्तोलाले अन्य व्यवसायमा आवद्ध व्यवसायीहरुको पलायनले अहिले मुद्रण व्यवसायीहरुलाई समेत मार परेको र पलायन हुने अवस्था आएको पीडा व्यक्त गरेका थिए । उनले “समस्या समाधानको लागि अब फिल्डमा उत्रेर काम गर्ने बेला आएको हुँदा यो वा त्यो वाहनामा सम्बन्धित निकायले काम नगर्ने हो भने, भोलिका दिनमा रगत दिने व्यक्ति पाउन पनि मुश्किल बन्छ, देश युवा विहीन बन्दैछ । हामीले दक्ष काम गर्ने जनशक्ति पाएका छैनौं, देशमा वेरोजगार छ । हामीले न्युनतम १५ हजार देखि ५० हजार सम्म तलब दिएर कामदार राखेका छौं, तर पनि कास्कीमा मात्रै अहिले १ सय जना भन्दा बढी मुद्रणमा काम गर्ने जनशक्ति खपत हुन्छ,” उनले भने ।
मुुद्रण उद्योग कास्कीका सल्लाहकार एवम् निवर्तमान केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायमा चुनौतीहरु थपिदै गएको र राज्यले अन्य उद्योग र मुद्रण उद्योगलाई एकै नजरले नहेरेको आरोप लगाए ।
श्रेष्ठका अनुसार “कास्की जिल्लामा रहेका मुद्रण संघमा आवद्ध ६० र आवद्ध नभएका ३० वटा मुद्रण उद्योगमा करिब ५ सय जना भन्दा बढी व्यक्तीलाई प्रत्यक्ष रोजगारको सृजना गरेको र ५० करोड भन्दा बढी लगानी भएको जानकारी गराएका थिए तर राज्यले करौडौं मुल्य पर्ने मेशिनलाई धितो राखेर न्युनतम कर्जा लिन्छु भन्दा पनि पाइदैन यो कस्तो विडम्वना ? हामी देशमा नै रहेर व्यवसाय गरी थप रोजगारीको सृजना गछौं भन्दा राज्यले घुमाएर यहाँ नबस भन्ने व्यवहार देखाएपछि कसरी रोकिन्छ युवा पलायन ? सही नीति बनाउन सके युवाले देशमै भविष्यको सपना देख्न सक्थे” उनले भने ।
त्यसै गरी नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रतिनिधि यमुना केसीले कार्यक्रममा बोल्दै “एक रगत पटक निकाल्दा केवल ३५० मिलिलिटरमात्र निकाल्ने गरिन्छ । जुन कुल तौलको २० औं भागमात्र हो । यसले मानव शरीरमा कुनै हानी नोक्सानी नगर्ने र रक्तदान गरेको २४ घण्टाभित्र शरीरले तरल भागले भए पनि परिपूर्ति गर्छ । यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ,” भनिन्।
उनले अहिले आधुनिक चिकित्सामा जतिसुकै विकास भए पनि हालसम्म रगत भने कृत्रिम तरिकाले बनाउन नसकेको र आवश्यक व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान नै एकमात्र विकल्प रहेको जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघको ५ औं अधिवेशनमा गण्डकी प्रदेशबाट सहभागी भई निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमया र सदस्यहरु बसन्त बास्तोला र चिन्तामणी बास्तोलालाई मुद्रण व्यवसायीहरुको तर्फबाट प्रदेश कोषाध्यक्ष कोपिला श्रेष्ठले खादा र माला लगाएर बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।
पोखरा महानगरपालिका अगाडि पाण्डे कम्प्युटर प्राङगणमा भएको कार्यक्रममा करिब २० प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक झंकनाथ अधिकारी (नारायण)ले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका रक्तदान गरिएको र नेपाल मुद्रण उद्योग महासंघको ५ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई ज्ञापन गरिएको अधिकारीले बताए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग र मुद्रण उद्योग संघ गण्डकी प्रदेशको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान केन्द्रीय सचिव जीवन गोर्खाली, गण्डकीका महासचिव मनोहर दाहाल, कोषाध्यक्ष कोपिला श्रेष्ठ, गण्डकी फ्रेम उद्योगका अध्यक्ष सुमन श्रेष्ठ, क्यान कास्कीका उपाध्यक्ष पुरुषोत्तम कुँबर, नविन श्रेष्ठ, मनिष नेपाली, लगायतले बोलेका थिए ।
मुद्रण उद्योग संघ कास्कीका महासचिव पदम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष चिन्तामणी बास्तोलाले समापन गरेका थिए ।