पोखरा, ४ फागुनः पोखरास्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्रावास भवन निर्माण गरिएको छ । १८ कोठा सहितको तीन तल्ले भवनको मंगलबार आयोजित एक कार्यक्रमकाबीच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भीमप्रसाद सुवेदीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष प्रा.डा.सुवेदीले शिक्षा ज्ञानोपयोगी, जीवनोपयोगी र समाजोपयोगी हुनुपर्नेमा जोड दिदै संस्कृत शिक्षालाई समयसापेक्ष रुपमा जीवनोपयोगीका साथै समाजोपयोगी बनाउनेतर्फ कृयाशिल बन्नुपर्ने बताए । संस्कृत भाषा, साहित्य र पम्परा हाम्रो जन्मदेखि मृत्युपर्यन्त जोडिदै आएको उल्लेख गर्दै उनले संस्कृत प्रदत्त ज्ञानको सदुपयोगका लागि भाषा जीवन्त हुनुपर्ने आवश्यकता औल्याए ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले संस्कृत शिक्षाप्रति पोखराको लगाव अनुकरणीय भएको बताउँदै विद्यापीठको आवश्यकता अनुसार अन्य आवाशीय भवन, पुस्तकालय आदि निर्माणतर्फ सोच बनाएर अघि बढीने विश्वास व्यक्त गरे। विश्वविद्यालयले समय सापेक्ष शिक्षालाई जोड दिदै वास्तु ईन्जिनियरिङ, योग तथा प्राकृतिक चिकित्सा, जीवन शैली व्यवस्थापन लगातका विषयको पाठ्यक्रम तयारी पठनपाठन गर्ने सोच बनाएको उनले जानकारी दिए।
विश्वविद्यालयका कुलसचिव सह प्रा.माधवप्रसाद अधिकारीले संस्कृतमा सबै छ भन्ने नभै यो छ भनेर देखाउनुपर्ने बेला आएको बताए। विद्यापीठहरूमा प्राध्यापकहरूलाई अनुसन्धानात्मक काममा लाग्ने किसिमको वातावारण तयार गर्नुपर्ने बताउँदै उनले विश्वविद्यालयलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनेतर्फ लागिएको बताए। पूर्वीय दर्शनमा सबै कुरा पर्याप्त भए पनि हामी त्यसको पहिचान नगरी पश्चिमातर्फ फर्कने गरेको उनले बताए।
विन्दुवासिनी संस्कृत विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले सबैको साथ र सहयोगमा विद्यापीठलाई गण्डकी प्रदेशकै संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गरिने बताए ।
विद्यापीठका प्राचार्य नारायणप्रसाद सापकोटाले विद्यापीठमा फलित ज्योतिषको स्नातकोत्तर तहको पठनपाठका लागि आवश्यक प्रकृया पूरा गरी सञ्चालनको तयारी गरिएको जानकारी गराए ।
संविधानसभा सदस्य एवम् विद्यापीठ विकास समितिका पूर्व सदस्य शारदा पौडेलले संस्कृत शिक्षाको गरिमा र महत्वलाई आत्मसात गर्दै विद्यापीठ स्थापना गरिएको स्मरण गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संस्कृत शिक्षाको विकसित मुलुकले यो वा त्यो रुपमा उपयोग गरिरहेपनि हामी संस्कृतका अनुयायीले अझै पनि यसको महत्वलाई आत्मसात गर्न नसकेको धारणा राखेका थिए ।
कार्यक्रममा विद्यापीठ विकास समितिका पूर्व अध्यक्ष ऋषि सापकोटा र विष्णुप्रसाद बराल, विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्व प्रचार्यहरू प्रा.डा. शालिकराम सुवेदी, सह प्रा श्रीराम बराल र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कार्यकारी परिषद् सदस्य एवम् नेपाल प्रध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाईका सभापति सह.प्रा. अम्बिकाप्रसाद भट्टराई, नेपाल प्राध्यापक संघ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय उपसभापति आनन्दमणि रिजाल, प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठका अध्यक्ष डा.जगन्नाथ रेग्मी, प्रगतिशिल प्राध्यापक संघ विन्दुवासनी संस्कृत विद्यापीठका श्यामप्रसाद पौडेल, संस्कृत मा.वि.का अध्यक्ष इश्वरलाल श्रेष्ठ, चिसाखोला बेद विद्याश्रमका प्रधानाध्यापक श्रीराम तिमल्सिना, स्ववियु प्रतिनिधि दीपेश पराजुली लगायतले संस्कृत शिक्षाको महत्वबारे चर्चा गर्नुभयो । उक्त अवसरमा वक्ताहरूले विद्यापीठका प्राध्यापक आवाश, पुस्तकालय लगायतका भौतिक पूर्वाधारको आवश्यकता समेत औंल्याएका थिए ।
विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रम राधाकृष्ण गैरेले सञ्चालन गरेका थिए।