खचाखच दर्शकका माझ गण्डकी र पुलिसले चुम्यो टाइगरकप

पोखराः टाइगर गु्रप अफ पोखराको आयोजनामा मंगलबारदेखि आयोजना भएको टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता शनिबार समापन भएको छ।
भलिबल खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको टाइगर गु्रपको फाइनल खेल प्रदर्शन हुँदै गर्दा दर्शकहरु भने बस्नको लागि ठाउँसमेत पाएका थिएनन्। फरक क्षमता भएका तथा जेष्ठ नागरिक, पत्रकारहरुलाई छुट्टै बस्नको लागि व्यवस्था भएपनि दर्शकहरुको चापले गर्दा आयोजकलाई दर्शकहरु सम्हाल्न हम्मे–हम्मे परेको थियो।


कोभिड–१९ का कारण अघिल्लो वर्ष चैत्र १० गते पछाडि देशभरमानै खेलकुदका कार्यक्रमहरु औपचारिक रुपमा खेलाइएका थिएनन्। तै पनि कहि कतै भने एकादुई खेलहरु भएका थिए। घरमा गुम्सीएर बसेका दर्शकहरु खुलेआम रुपमा खेलकुद हेर्नको लागि आएको सायद गण्डकी प्रदेशकै पहिलो रेकर्ड ब्रेक नै होला। यसले के देखाउछ भने मानिसलाई कोभिडले जसरी घरभित्र गुम्साएको छ, त्यसबाट मुक्तीको लागि खुल्ला चउरमा रमाउन चाहेको देखिन्छ। भलिबल प्रतियोगिता हेर्न आएका एकजना तेर्सापट्टी घर बताउने दर्शक बताउछन्। “सेमिफाइनल सम्म मोवाइलबाट लाइभ हेरेको थिए। गण्डकी प्रदेश नै फाइनलमा आएपछि मन थाम्न नसकेर भौतिक रुपमा नै उपस्थित भएर खेल हेर्न आएको हुँ।” त्यस्तै विरौटा घर बताउने विनोद पौडेल बताउँछन्। “घरमा लामो समय सम्म बसिरहँदा मननै एउटा पिंजडा भित्र थुनिएको अनुभव भएको थियो। अहिले खुल्ला रुपमा चौरमा बसेर कार्यक्रम हेर्दा छुट्टै अनुभूति भएको छ। मलाई खेल क्षेत्र अत्याधिक मन पर्छ आगामी दिनमा टाइगर गु्रपले यसैगरी अन्य खेलहरुलाई समावेश गरी निरन्तर अगाडि लैजान सकोस्, शुभकामना।”
गुमनाम नहुन् राष्ट्रिय खेलाडी

पर्यटकीय सहर पोखरा गण्डकी प्रदेशकै उत्कृष्ट सहरमा पर्दछ त्यसमाथी खेलकुद क्षेत्र विकास र विस्तारको लागि अग्रणी भागमा रहेको छ गण्डकी प्रदेश। टाइगर कप उचाल्न सफल गण्डकी प्रदेश टिमले नसोचेको जीत हासिल पार्दा खेलाडीहरु खुसी त छदैछन्, त्यो भन्दा बढी दर्शकहरु खुसी देखिन्थे। यसलाई निरन्तरता दिनको लागि खेलाडीहरुको मनोवल उच्च बनाउन र उनिहरुको जिम्मेवारी बहनको लागि कुनै पनि संघ संस्था नहुँदा यस्ता खेलाडीहरु त्यस्तै पलायन हुन जाने अवस्था सृजना भइरहेको पाइन्छ। पूर्ण रुपमा खेल क्षेत्रमा समय दिन सक्ने अवस्था कोही कतै बाहेक नेपालका कुनै खेलाडीमा पनि देखिदैन।
भलिबल टिमका राष्ट्रिय छनौटमा परेका एकजना खेलाडी भन्छन् “आफ्नो कमाइ छैन खेलेर आउने पैसा आते जाते मै सिद्धिन्छ, खेल्न जान लागेको भन्दा घरपरिवारले गाली गर्छन् तैपनि खेलकुदमा बसेको नसाले छोड्ने रैनछ। अब नेपाल सरकारले पनि हामी जस्तो खेलाडीलाई संरक्षण गर्ने र भावी दिनको ग्यारेण्टी नगर्ने हो भने हामी खेलकुद नै भनेर बस्न सकिने अवस्था देखिदैन। हामी भन्दा सिनियर दाजु दिदीहरुको खेलकुदबाट सन्यास लिएपश्चात उहाँहरुको जीवन शैली देख्दा मनमा दुःख लाग्छ। हामी राष्ट्रको लागि भनेर खेल्छौ त्यो पनि व्यक्तिगत खर्च गरेर अनि राष्ट्रले कुनै सम्मान गर्न सक्दैन, अनि कसरी गुणस्तरीय राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिन्छ। अब भने आशा लागेको छ, खेलाडीहरु प्रति सकरात्मक भावना देखाएको नेपाल सरकारले चाडै ठोस कदम चाली खेलाडीहरुलाई सम्मान गर्न सक्छ भन्नेमा।

महाकवी लक्ष्मी प्रसाद देवकोटाले “के नेपाल सानो छ” निबन्धमा भनेका छन्, “यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ। नालाहरुका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान्, यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरु हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरु जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?”


यो निवन्धको सारले जस्तै नेपाल अन्तराष्ट्रिय स्तरमा अब्बल जमाउने, देशको नाम उचो राख्ने, गिनिज बुकमा नाम लेखाउने खेलाडीहरु कतै हलो जोत्दै, विदेशी भुमीमा सलाम ठोक्दै, बेरोजगारीको विल्ला बोकेर देशमै बसेका त छैनन्? खेलाडीहरुलाई नेपाल सरकारले आत्मसम्मान दिन सक्नुपर्छ, उनिहरुको भावनामा तक्मा लगाउन सक्नुपर्छ। देशको गहनाको रुपमा स्विकार्नु पर्दछ। आज फुल्दै गरेका कोपिलाहरुलाई उनिहरुको पूर्ण रुप दिन सक्नुपर्दछ। खेलकुदलाई अगाडि बढाउन नेपाल सरकार जुनसुकै मूल्य चुकाउन पनि पछि हड्नु हुँदैन।
खेलकुद क्षेत्रको विकासको लागि सबै भन्दा पहिला बजेट नै आउछ। विनियोजन गर्ने बजेट कस्तो प्रकारको रह्यो हेर्ने दृष्टिकोण नै सरकारको देखिदैन। खेलक्षेत्रमा गरिएको बजेट एउटा लगानी हो भन्ने नेपाल सरकारले बुझ्नुपर्दछ। हिजोको समयमा झैं बुद्ध जन्मेको देश र विश्वको सर्वोच्च हिमाल मात्र भनेर विश्वमा चिनाउने अवस्था छैन। खेलाडीहरु उत्पादन भनेको राष्ट्रिय एकता गर्नु हो, राष्ट्रको सम्मान, गौरव बढाउनु हो। स्वस्थ, अनुशासित, सवल र नेतृत्वदायी नागरिक तयार पार्नु हो। नेपालको झण्डा फहराएर विश्व सामु चिनाउने खेलकुद नै हो भन्ने विषयमा सबैले बोध गर्नुपर्दछ।

पुरुष तर्फ गण्डकीलाई उपाधि

नेपालमा भएका भलिबल खेलाडीहरुको बाहुल्यता भएको त्रिभुवन आर्मी तथा विभागिय टोलीलाई घरेलु टिम गण्डकीले पुरुष तर्फको उपाधि जितेको छ।
पोखरा रंगशाला भलिबल कोर्टमा भएको प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिप फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। पहिलो सेटको खेलमा केही समय कमजोर देखिएको गण्डकीको टिम १२ र आर्मी १८ बाट एकाएक गण्डकीले उत्कृष्ट प्रदर्शन गरेको थियो।
निकै प्रतिस्पर्धात्मक फाइनलमा गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो। घरेलु समर्थकको राम्रो साथ पाएको गण्डकीले त्यसको फाइदा उठाउँदै अन्तिम सेटमा आर्मीलाई स्तब्ध पार्दै उपाधि जितेको हो।
दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो। तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो। चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हरायो भने पाँचौं सेट अर्थात् निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५– ११ ले हराउँदै उपाधि जितेको हो।
विजेता गण्डकीले १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता आर्मी क्लबले ७५ हजार, तृतीय भएको टिम नेपाल पुलिस क्लबले ३५ हजार र सान्त्वना भएको टिम सशस्त्र प्रहरीको एपिएफ क्लबले १५ हजार सहित उपाधिहरु प्राप्त गरेका छन्। विभागीय टोली आर्मीलाई स्तब्ध पार्दै गण्डकी प्रदेशबाट खेलेका ओपन स्पाइकर घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी चयन भएका छन उनले नगद २० हजार सहित ट्रफि प्राप्त गरे। पुरुषतर्फ उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीका हरि अधिकारी, उत्कृष्ट सर्भर आर्मीकै शरण समारी क्षेत्री, उत्कृष्ट स्पाइकर आर्मीका दानबहादुर भट्ट क्षेत्री, उत्कृष्ट सेटर गण्डकी प्रदेशका सुजन चोखाल, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी मगर चुनिए। गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए। उनिहरुले नगद ५–५ हजार र ट्रफि पाएका थिए।

महिला तर्फ पुलिसलाई उपाधि

नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि जितेको छ।
महिला भलिबल खेलाडीको टिम होङ्गाजी न्यू डायमण्ड स्पोर्ट क्लव सेमिफानल खेलमा एक सेट जित मात्र हात पारेमा फाइनलमा प्रवेश गर्ने भएपनि लगातार ३ सेट पराजित हुँदा डायमण्ड वाहिरिएको थियो भने त्रिभुवन आर्मी क्लबको महिला टिम लगातार पराजित हुँदा सेमिफाइनल खेल समेत खेल्न पाएको थिएन।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। पुलिसले पहिलो सेटमा एपिएफलाई २५–२२, दोस्रो सेटमा पनि २५–२२ र तेस्रो सेटमा पुलिसले सुरुवात देखिनै उत्कृष्ट प्रर्दशन गर्दै २५–२१ ले हराउँदै उपाधि जितेको हो।
विजेता पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता एपिएफ क्लबले ७५ हजार, तेस्रो स्थानमा रहेको डायमण्ड क्लबले ३५ हजार र सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले १५ हजार सहित उपाधिहरु प्राप्त गरेका छ।
नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। नेपाल पुलिस क्लबलाई उपाधि जिताउन महत्वपूर्ण प्रर्दशन गरेकी उषा सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन्। उनले नगद २० हजार र ट्रफी पाइन्। उत्कृष्ट ब्लकर नेपाल एपिएफकी हिरा केसी, उत्कृष्ट सटर पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर न्यु डायमन्ड क्लबकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिए भने रुपेश विष्ट महिला भलिबलका उत्कृष्ट प्रशिक्षक भएका थिए। अवार्ड जित्ने उनिहरुलाई ५–५ हजार र ट्रफि पाएका थिए।