काठमाडौं । नेकपा (मसाल)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरेर देशलाई निर्वाचनमा धकेल्न खोजेको बताएको छ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार जारी गरेको वक्तव्यमा ‘अहिले ओलीको नेतृत्वको एमालेले वर्तमान सरकारलाई अपदस्थ गराउन र देशलाई मध्यावधि चुनावमा लैजानका लागि योजनावद्ध प्रकारले अभियान चलाइरहेको’ बताएका छन्।

एमालेले संसदमा अवरोध जारी राखेपछि मसालको यस्तो वक्तव्य आएको हो।

नवगठित नेकपा (एकीकृत समाजवादी)पक्षको ओलीको प्रतिगमनका विरूद्धको संघर्षमा निर्णयात्मक र ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै सिंहले उनीहरूको सांसद पद खारेज गर्न सकेमा वर्तमान सरकार अपदस्थ हुने र देशलाई मध्यावधि चुनावमा लैजान मार्ग प्रशस्त हुने बताएका छन्।

वक्तव्यमा अगाडी भनिएको छ, ‘अहिले एमालेको सम्पूर्ण जोड निर्वाचनमा जाने र त्यसद्वारा दुई तिहाई बहुमत प्राप्त गर्नेतिर केन्द्रित छ। त्यसरी संविधानमा आफ्नो इच्छाअनुसार संशोधन गर्नको लागि पनि उनीहरूले मार्ग प्रशस्त गर्न चाहन्छन् । निर्वाचनमा त्यसरी विजय भएमा उनीहरूले राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापनाको लागि संविधानमा संशोधन गर्ने तथा लिपुलेक, कालापानी र एमसीसी समेतबारे राष्ट्रघाती सौदावाजी गर्ने सम्भावना रहने छ।’