सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।

बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।

प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।अदालतले नेकपा फुटाएपछि एमालेको संसदीय दलको कार्यालय रहेको सो कार्यालयमा अहिले नेकपा (एस) को कार्यालय बनाइएको हो ।

नेकपा (एमाले) बाट विभाजनपछि सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको नेकपा (एकीकृत समाजवादी) बनेको छ । सभामुखसहित ५२ जना रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) मा १४, नेकपा माओवादी केन्द्र १३, नेपाली काँग्रेस १२, नेकपा एमाले १० र जसपा २ जना सांसद भएका छन् ।