पदम श्रेष्ठ÷बाघपाइला

संखुवासभाः एकै परिवारका ६ जनाको सामुहिक हत्या भएपछि संखुवासभाको मादी गाउँपालिका १ उमलिङको खोला गाउँ मात्रै होईन, देशभर नै यो हत्याकाण्ड चर्चाको विषय बन्न पुग्यो।
शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीलाई तेजवहादुर कार्कीको परिवारको सामुहिक हत्या भएको घटना ठुलो टाउको दुःखाईको बिषय भयो।
हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीको उच्च टोली घटनास्थलमा पुगेर शंकास्पद अभियुक्तहरुको खोजि कार्य थाल्यो। तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको प्रहरी टोलीका लागि हत्यारा पत्ता लगाएर कार्वाहीको कठघरामा उभ्याउन निकै चुनौतीपूर्ण थियो। यति ठुलो हत्याकाण्डको दोषि पत्ता लगाउन नसके प्रहरी फेरि असफल सावित भएर आलोचित बन्नुपर्ने अवस्था थियो। तर अपराध गर्नेहरु जतिसुकै चलाख बनेर घटनाको ढाकछोप गर्ने प्रयास गरेपनि कुनै न कुनै सुराग छाडेका हुन्छन्।
संखुवासभा हत्याकाण्डमा पनि शुरुवातदेखि अनुसन्धानमा खटिएको टोलीको सहयोगी बनेर काम गरिरहेका अभियुक्तले जतिसुकै आफ्नो संलग्नता ढाकछोप गर्ने कोशिस गरेपनि सफल हुन सकेनन्। अनुसन्धान टोलीलाई खाना बनाउन सहयोग गरेर, मारिएकाहरु आफन्त भएको र निकै असल भएकोले कसैसँग दुश्मनी नभएको बताए। घरी शोकमा डुवेको नाटक गर्दै रुदै विलौना गरेका पात्र नै अभियुक्त होला भनेर कसैले कल्पना गरेका थिएनन्। तर अभियुक्तका भाईले जव रगतको टाटा भएको सर्ट लगाएर मानिस र अनुसन्धान गर्नेहरुको भीडमा देखिए तव प्रहरीको अनुसन्धान त्यही अभियुक्तको परिवारतिर मोडियो।
सर्टमा लागेका रगतको टाटाहरु धोएर पखाल्ने प्रयास गरेपनि दागहरु नगएकोले त्यही प्रहरीको लागि अभियुक्तहरुसम्म पुग्ने भरपर्दो सुराग बन्न पुग्यो। पाप धुरीवाट कराउँछ भनेजस्तै हत्या गरिएको परिवारको आफन्त छिमेकी २५ बर्षिय लोकवहादुर कार्की अनन्त अहिले प्रहरीको खोरमा जाक्किन पुगेका छन्।
हत्या गर्दा प्रयोग गरिएका सामाग्रीहरुसहित बरामद गरेको प्रहरी टोलीले आईतवार घटना बारे पत्रकारहरुमार्फत सार्वजनिक गर्दैछ।
लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ।
तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ। उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन्। तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ।
रणबहादुरका अनुसार छोरा ‘लोकबहादुरले “हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चिच्याए। छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए।
अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बेहोस भइरहने समस्या थियो। प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए। बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ। तेजबहादुरको शव सडकछेउ घोप्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सामा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृत भेटिएका थिए। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी ईकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।
एकै परिवारका ६ जनाको हत्या सोमबार बिहान एकै समयमा भयो। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ गरेको छ। तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ। घटनामा कुनै धारिलो तयार प्रयोगसमेत भएको छैन। मृतकको टाउकोमा सामान्य चोट देखिन्छ। ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो।
घटना बिहान भए पनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए। छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको हत्या ? एक्लै छोटो समयमा यस्तो घटना गर्न नसक्ने अनुसन्धानले देखाउँछ। अन्य व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ।
लोकबहादुर दुईपटक वैदेशिक रोजगारीमा गएका थिए। फर्किएर खेती किसानीमा लागे। कक्षा ८ सम्म पढेका उनी ६ वर्षअघि मलेसिया गए। त्यहाँबाट १० महिनामा घर फर्केर डेढ वर्षपछि कतारतिर उडे। त्यहाँबाट पनि नौ महिना नपुग्दै फर्किए। आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए।