श्री चण्डीडाँडा माध्यमिक विद्यालय फेदीखोला गाउँपालिका १ मट्टीखान, स्याङ्जाले स्थापनाको ६७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार विद्यालय परिसरमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद शर्मा सुवेदीले गर्नु भएको थियो भने प्रमुख अतिथि फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, विशिष्ट अतिथि शोकबहादुर गुरुङ र विशेष अतिथि फेदीखोला गाउँपालिका उपाध्यक्ष देवकुमारी गुरुङ रहनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक कुलचन्द्र पौडेलद्वारा सम्पुर्णमा स्वागत गर्दै विद्यालयमा सञ्चालन भएका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, विद्यालय व्यवस्थापन समितिको भूमिका, अभिभावक शिक्षा, गणित शिक्षा सुधारका लागि जाइकाको कार्यक्रम, परीक्षा मूल्याङ्कन प्रणालीलगायत विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा फेदीखोला गाउँपालिका र पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, नेपाल सरकारका पूर्व उपसचिव पदमबहादुर थापा, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष, प्रधानाध्यापक तथा पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, प्रदेश प्रमुख नेपाल स्काउट गण्डकी प्रदेश, उद्योगी, शुभचिन्तक, स्वास्थ्य चौकी तथा प्रहरी चौकी इन्चार्ज, शिक्षकहरू, पूर्व विद्यार्थी, अभिभावक, विभिन्न टोल विकास संस्था, खानेपानी समिति, वन उपभोक्ता समिति, आमा समूह र क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख र विशिष्ट अतिथिहरूले संयुक्त रूपमा सम्पन्न गर्नु भएको थियो । कार्यक्रममा दिवंगत संस्थापकहरूको माल्यार्पण, ६७औँ वार्षिक उत्सवको ब्यानर वाचन, राष्ट्रिय गान, फेदीखोला गान, स्काउट गान, स्काउट टोलीद्वारा मार्च पास र विज्ञान तथा शैक्षिक प्रदर्शनी कार्यक्रमका मुख्य आकर्षण रहेका थिए । विद्यार्थीहरूको विविध प्रस्तुतिहरुले कार्यक्रममा विशेष रङ्ग थपेको थियो । कक्षा १० की दिपा क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । विद्यार्थीहरूले स्वागत गीत, बालगीत, काता प्रदर्शन, नृत्य, नाटक तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिएको थियो । यस अवसरमा विद्यालयको विविध जानकारी सहितको विद्यार्थी तथा शिक्षकहरुको लेख रचनाहरु समावेश गरिएको विद्यालयको मुखपत्र ‘चण्डीडाँडा प्रतिबिम्ब’ को विमोचन प्रमुख अतिथि फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, विशिष्ट अतिथि शोकबहादुर गुरुङ बाट लोर्कापण गरिएको थियो ।

प्रधानाध्यापक अमृत श्रेष्ठले शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलापसम्बन्धी विस्तृत वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालयका लेखा शिक्षक नारायण पोखरेलले आर्थिक प्रतिवेदन पेश गर्दै विद्यालयको आय–व्यय, स्रोत साधन र व्यवस्थापनको समग्र जानकारी गराउनु भयो । शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै फेदीखोला गा.पा. वडा नं. १ का वडा अध्यक्ष अमृत क्षेत्रीले विद्यार्थीहरूको बाजागाजा, स्काउट र कराते कार्यक्रमको प्रशंसा गर्दै शिक्षक र विद्यालय व्यवस्थापन समितिको भूमिकामा धन्यवाद व्यक्त गर्नु भएको थियो । समाजसेवी डा. चन्द्रबहादुर गुरुङले विद्यालय स्थापनामा योगदान, ऐतिहासिक पृष्ठभूमि र विद्यालयको ५२ रोपनी जग्गाबारे चर्चा गर्दै भविष्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । इन्जिनियर कृष्ण गुरुङले विद्यालयका कार्यक्रमहरूको प्रशंसा गर्दै अक्षयकोष रकम थप गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । पूर्व उपसचिव पदमबहादुर थापाल व्यवस्थापन समितिको भूमिका प्रशंसनीय रहेको र सहकार्यमा अघि बढ्न सुझाव दिनुभयो । पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दिपक सुवेदीले दुई पालिकाको सिमानामा रहेको विद्यालय भएकाले बजेट व्यवस्थापन कठिन भए पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर राम्रो रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गा.पा. उपाध्यक्ष देवकुमारी गुरुङले शिक्षामा गरिएको लगानीको सकारात्मक नतिजा देखिन थालेको उल्लेख गर्दै अभिभावकको भूमिका, अतिरिक्त क्रियाकलाप र सभ्य समाज निर्माणमा राजनीतिक चेतनाको महत्वमाथि जोड दिनुभयो । प्रमुख अतिथि गाउँपालिका अध्यक्षले शिक्षा क्षेत्रमा ३८% बजेट लगानी, आईटी शिक्षक व्यवस्था, स्थानीय पाठ्यक्रम, एआई प्रविधि, ‘एक विद्यालय–एक उद्यम’, ‘एक विद्यार्थी–एक बैंक खाता’, क्यासलेस प्रणाली र अधुरा योजनाहरू आगामी बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम अन्तर्गत विभिन्न अक्षयकोषदाताहरू र शुभचिन्तकलाई सम्मानपत्र वितरण गरिएको थियो । उत्कृष्ट शिक्षकहरूलाई नगदसहित सम्मान, राष्ट्रपति रनिङ शिलमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान, कक्षा १२ परीक्षामा गा.पा. प्रथम हुने छात्रा नेहा गुरुङलाई सम्मान तथा विद्यालयका विभिन्न विधामा उत्कृट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमको समापन मन्तव्यमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद शर्मा सुवेदीले अभिभावकको सक्रिय सहभागिता अझ आवश्यक रहेको, शिक्षक–विद्यार्थी–अभिभावकबीच समन्वय बढाउने, प्रतिभा प्रस्फुटन, शिक्षक प्रोत्साहन र शिक्षालाई जीवनोपयोगी तथा गुणस्तरीय बनाउने विषयमा जोड दिँदै कार्यक्रम औपचारिक रूपमा समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बन्धुराज पौडेल र विद्यार्थी सुशान्त गिरीले गर्नुभएको थियो ।










