पोखरा — सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा ‘जेन्जी विद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार कन्या क्याम्पस पोखराको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य कपिलमणि दाहालले छलफलपत्र प्रस्तुत गरेका थिए। छलफलपत्र प्रस्तुतिपछि १३ जना सहभागीहरूले सक्रिय रूपमा जिज्ञासा तथा धारणा राखेका थिए, जसमा जेन्जी पुस्ताका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

छलफलपत्र प्रस्तुत गर्दै दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कालखण्डमा सुशासन र परिवर्तनको माग गर्दै युवाहरूले आन्दोलन गर्दै आएको ऐतिहासिक तथ्य प्रस्तुत गरे। नेपालमा गत भदौ २३ र २४ गते भएको जेन्जी विद्रोह पनि त्यसैको निरन्तरता भएको उनको दाबी थियो। उनले उक्त आन्दोलन राजनीतिक व्यवस्था परिवर्तनका लागि नभई सुधारका लागि केन्द्रित रहेको स्पष्ट पारे।

पुराना भनिएका राजनीतिक दलहरूको अकर्मण्यता र अधिनायकवादी प्रवृत्तिका कारण सुशासन र पुस्तान्तरणको माग गर्दै जेन्जीहरू सडकमा उत्रिन बाध्य भएको दाहालको भनाइ थियो। यो विद्रोह बाहिरबाट अप्रत्याशित देखिए पनि लामो समयदेखिको असन्तुष्टि, उकुसमुकुस र मौनता एकैचोटि विस्फोट हुँदा शासनसत्ता नै हल्लिने अवस्था सिर्जना भएको उनले बताए।

हाल नेपालको राजनीति तरल अवस्थामा रहेको उल्लेख गर्दै दाहालले यथास्थितिमा गरिने भनिएको निर्वाचनले जेन्जीका जायज मागहरू सम्बोधन गर्न नसक्ने धारणा व्यक्त गरे। अबको निकासका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आवश्यक रहेको, उक्त गोलमेचले संविधान संशोधन गर्नुपर्ने विषयको निक्र्योल गर्नुपर्ने र राष्ट्रपति वा अदालतले केही समयका लागि संसद् पुनस्र्थापना गरी संसद्बाट आवश्यक संविधान संशोधन भएपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने उनको सुझाव थियो।

कार्यक्रममा सूर्यभक्त सिग्देल, डा. लक्ष्मीशरण अधिकारी, डा. वासुदेव भण्डारी, विवेक भट्टराई, पुष्पनिधि अमगाईँ, डा. नवराज न्यौपाने, पद्मशरण रेग्मी, मुक्तिराम पौडेल, कृष्णप्रसाद तिमिल्सेना, पुण्यप्रसाद भट्टराई, वसन्त पराजुली, कृष्णप्रसाद तिमिल्सिना र मनोज सुवेदीले छलफलपत्रमाथि जिज्ञासा तथा टिप्पणी राखेका थिए।

संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डा. पिताम्बर पौडेलले गरेका थिए भने उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा खाजापानीसहित सम्पूर्ण खर्च संस्थाका आजीवन सदस्य मदन बरालले व्यहोरेका थिए।