पर्वत: पर्वत जिल्लाको फलेबास नगरपालिका–४ मुडिकुवा स्थित कुश्मा–फलेबास सडकखण्डमा आज साँझ जिप दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् ।
आज साँझ ६ः४० बजे कुश्माबाट खानिगाउँतर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको पिकअप बोलेरो जिप अचानक ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक फलेबास नगरपालिका–५ खानिगाउँ निवासी ३५ वर्षीय संजन परियार (सञ्जु) घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको बताइएको छ । जिपमा चालक मात्र सवार रहेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी नायब निरीक्षक बलबहादुर गुरुङको कमाण्डमा ९ जना र प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा थप १५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
घाइते चालकलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाइएको छ ।