पोखरा । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा यही पौष ३० गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको छ । सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।
सभामा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
साधारण सभामा अध्यक्ष पाण्डेले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सभाले सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू पारित गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । सञ्चालक समितिबाट सिफारिस भई आएको आर्थिक वर्ष २०८१/०८२ मा लाभांश वितरण नगर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
विशेष प्रस्ताव अन्तर्गत सञ्चालक समिति तथा उप–समितिहरूको बैठक भत्ता र आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्ने प्रस्तावहरू समेत सर्वसम्मतिले पारित गरिएको कम्पनीले जनाएको छ ।








