काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा विघटन पछि बढेको राजनीतिक सरगर्मीका बीच नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरुले स्पष्ट २ धारमा विभाजित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सुझाव दिएका छन् ।

आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरिरहेका प्रचण्डलाई चिनियाँ प्रतिनिधि मण्डलका सदस्यले पार्टी भित्र अल्पमतमा रहेका भनिएका ओलीसँग मिलेर अगाडि जान भनेको हो ।

प्रतिनिधि सभाको विघटन पछि नेपालमा राजनीतिक संकट गहिरिँदै गए पछि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार ४ सदस्यीय टोली काठमाडौं आएको थियो ।

उक्त टोलीले सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर सम्भव भएसम्म प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।

चिनियाँ प्रतिनिधि मण्डलका सदस्यहरुले अहिलेको अवस्थामा पार्टी एकता जोगाउन महत्वपूर्ण विषय भएकोतर्फ पनि प्रचण्डको ध्यानाकर्षण गराएका खुमलटार स्रोतले जानकारी दिएको छ ।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका छन् । ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिनु पर्ने अडान प्रचण्डले चिनियाँ टोली समक्ष राखेका हुन् ।

सोमबार बिहान करिब साढे ९ बजेतिर खुमलटार पुगेको चिनियाँ टोलीले प्रचण्डसँग करिब ४५ मिनेट वार्ता गरेको थियो । त्यसपछि चिनियाँ टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका थिए ।

नेपाल निकट एक नेताका अनुसार चिनियाँ टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनुपर्ने धारणा राखेका थिए ।

त्यसपछि चिनियाँ टोलीका सदस्य पूर्वप्रधानमन्त्री तथा प्रचण्ड–नेपाल समूहका अर्का नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेको थियो । टोलीले खनाललाई पनि एकतालाई कायमै राख्नको लागि आग्रह गरेको खनाल निकट एक नेताले जानकारी दिए ।

खनाललाई भेटे पछि चिनियाँ टोलीले सभामुख अग्नी सापकोटासँग पनि भेटवार्ता गरेको छ । चिनियाँ टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

उक्त टोलीले आइतबार काठमाडौंमा आउने वित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटिको थियो ।