कोभिड १९ को तेस्रो लहर शुरु भईसकेको छ । अघिल्ला दुई चरण भन्दा झनै संक्रमित डेल्टा र डेल्टा प्लस भाईरसले धेरै मानिसलाई संक्रमित बनाएर दिनहुँ दर्जनौको ज्यान लिइरहेको छ । शयौं संक्रमितहरु जीवन र मरणको दोसाँधमा अस्पतालका शैइयाहरुमा छट्पटाईरहेका छन् । उपचारका खर्च जुटाउन नसकेर कतिपय जनताको अकालमा ज्यान गएको छ । कतिपय ऋण धन गरेर पनि नपुग्दा दिनहुँ लाखौं रुपयाँ सकिएर घर न घाटको बनेका छन् । कतिपयको सास र सम्पति दुवै सकिएको छ ।
विश्वभर फैलिएको कोरोनाको कहर बाहिर हेर्दा जति दर्दनाक छ त्यसको भित्रि पाटो अझ भयानक र कहाली लाग्दो छ । उपचारका नाममा अस्पतालहरुले गरेको लुट, लार्पावाही, विरामीप्रतिको गैह्र जिम्मेवार व्यवहारले मानवता मरिसकेको संकेत गरेको छ ।
अर्कोतिर कोरोना रोक्नुपर्ने राज्यका जिम्मेवार निकायको लापरवाहीपूर्ण व्यवहारले संक्रमितहरु दिनप्रति दिन बड्दै गइरहेका छन् । सिमित खोप र खोप केन्द्रहरु र खोप लगाउनुपर्ने मानिसहरु धेरै हुँदा स्वास्थ्य क्षेत्र भद्रगोल मात्रै होइन ज्यानमारा समेत बन्दै गइरहेको छ । खोप केन्द्रहरुको भीड र हानथापले सामान्य नागरिक पनि खोप लगाउन जाँदा संक्रमित बनेर जोखिममा परेका छन् । खोपमा पनि पहुँचवाला र वाहुवलीहरुको रजगज चलिरहेको छ । खोप लगाउन अनिवार्य आवश्यकता भएकाहरु पनि पहुँच नहुँदा खोपको दायरा बाहिर पारिएका छन् । कुनै जोखिममा नभएपनि पहुँच र सोर्सफोर्सले गर्दा खोप पाएका छन् ।
खोप अनिवार्य भएर पनि वेवास्ता गरिएको एउटा क्षेत्र चिकित्सा शास्त्र अध्ययन गर्दै गरेका बिद्यार्थीहरु देखियो । व्यवहारिक कक्षाको सिलसिलामा विरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने शयौं बिद्यार्थीहरु कोरोना बिरुद्धको खोप बिना उच्च जोखिम मोलेर काम गरिरहेका छन् । स्वास्थ्य सुरक्षाका लागि खोप लगाउन पुगेका स्वास्थ्यका बिद्यार्थीहरुलाई कतिपय खोप केन्द्रले वेवास्ता गर्दै खोप नलगाईकन फकाईदिएर स्वास्थ्य र ज्यानमाथि खेलवाड गरेका छन् । नदीपुरको ज्ञानभूमि माविमा क्याम्पसले खोप लगाईदिन अनुरोध गर्दै दिएको पत्र वोकेर खोपका लागि घण्टौं चर्को घाममा सेकिएर बसेका बिद्यार्थीहरुलाई खोप केन्द्रमा कार्ड बनाउने कर्मचारीहरुले पत्र नै च्यातेर दुव्र्यवहार गरेर फर्काईदिएका थिए ।
कतिपय क्याम्पसहरुले खोप नलगाएका बिद्यार्थीहरुलाई बिरामीको सम्पर्कमा पठाएर संक्रमित बनाउने र संक्रमण फैलाउने गैह्रजिम्मेवार पारा देखाईरहेका छन्। यस्तो अबस्था प्रति अभिभावक र स्वंयम् बिद्यार्थीहरु सचेत भएर खवरदारी गर्न जरुरी गरे भविष्यमा कोरोनाले कतिको स्वास्थ्य र ज्यान जोखिममा पार्ने हो ? गम्भिर बन्नुपर्ने देखिन्छ ।
स्वास्थ्यकर्मी जस्तै स्वास्थ्यका बिद्यार्थीहरु पनि कोरोना बिरुद्धको लडाईका फ्रन्टलाईन नै हुन् । उनीहरुको पनि स्वास्थ्य, सुरक्षा, बिमा, बन्दोवस्तीको उचित व्यवस्था हुन जरुरी छ । विना खोप र सुरक्षा संक्रमणको महामारीमा काम गर्दा बिद्यार्थीहरु नै संक्रमित बन्ने र अन्य संक्रमित नभएका बिरामीहरुलाई संक्रमण सार्ने खतरा उतिकै हुन्छ । कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरुमा संक्रमण भएपनि गम्भिर क्षति हुन नपाउने अध्ययनले पुष्टि गरेको छ । त्यसैले कोरोना बिरुद्धको यो लडाईमा खोप अर्थात सुरक्षा बिना र हतियार बिना युद्ध मैदानमा पठाउनु भनेको कोरोनाको शिकार बन्न जा भनेर समस्या र मृत्युको मुखमा धकेल्नु बराबर हो । खोप, स्वास्थ्य परीक्षण, पीपीई, मास्क, सेनिटाईजर, फेस सिल्डसँगै उचित खानपान, बिमा, उपचारको ग्यारेण्टी गरिनुपर्दछ । अनि मात्रै बिद्यार्थीहरुले उच्च मनोवलका साथ शिक्षा ग्रहण गरेर दक्ष स्वास्थ्यकर्मी बनेर भविष्यमा बिरामीको राम्रोसँग उपचार गर्न सक्दछन । त्रासयुक्त वातावरणमा जर्वजस्ती राखेर न बिद्यार्थीले ज्ञान आर्जन गर्न सक्छन न त आफ्नो ज्यानको सुरक्षा गर्न सक्षम हुन्छन ।
यस वारेमा राज्यका सरोकारवाला निकाय शिक्षा र स्वास्थ्य क्षेत्रका उच्चदेखि स्थानीय तहहरुले गम्भिरतापूर्वक ध्यान दिएर तत्काल सुरक्षाका लागि खोपसहितका अत्यावश्यक सामाग्री र शर्तको व्यवस्था गर्नुपर्ने देखिन्छ । अन्यथा विद्यार्थीहरुप्रति गरिने लार्पावाही र वेवास्ताका कारण उत्पन्न हुने गम्भिर परिणामको नतिजा ठेकेदार संस्थाहरुले उच्च मुल्य तिरेर चुकाउनुपर्नेछ ।