कोेरोनाले सिकिस्त बनेर पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएका भिनाजुको कुरुवा बसेकै पाँच दिनमै मालेपाटनका एक ४० बर्षिय युवक आफै कोरोना संक्रमणको शिकार बने । कोरोनाबाट बच्न मास्क, पीपीईदेखि स्यानीटाईजरको निकै सर्तकताका साथ प्रयोग गर्दा गर्दै खोकी र ज्वरोले सताउन थालेपछि पीसीआर परीक्षण गर्दा पोजेटीभ देखिएपछि आईसोलुसनमा बस्नुपर्ने ती युवक कुरुवा बस्ने कोहि नभएपछि अस्पताल र बजारको भीडमा कुदिरहन बाध्य भए ।
कोरोना संक्रमण भएपछि आइसोलुसनमा बस्नुपर्छ भन्ने थाहा हुँदा हुँदै मानिसहरुको भीडमा कुद्न बाध्य ती युवकले अस्पतालमा बस्नेक्रममा आफु जस्तै धेरै कुरुवा पोजेटिभ हुँदा हुँदै भीड्मा कुदिरहेको कुराकानीको क्रममा थाहा पाए ।
अस्पतालमा कोरोनाको उपचार गर्ने वार्डमा कुरुवा र आफन्तहरु सामान्य मास्क मुखमा लगाएपनि स्वास्थ्य सम्वन्धि मापदण्ड पालना नगरिकन खुलेआमा लसपस भएकोले आफु पनि संक्रमण बनेको भेटियो,“ बाघपाईला साप्ताहिकसँगको भेटमा ती युवकले दुखेसो पोखे–मैले सावधानी अपनाउदा अपनाउँदै गर्दा त आफै संक्रमण बने भने अरु त झनै हेलचक्राईका साथ कोरोना वार्डमा आउने र जाने गर्नेहरु त कति संक्रमित भए भए । आफु मात्रै होईन, घरपरिवारका सदस्य, छिमेकी र वजारमा कति जनालाई सारे होलान् अनुमान गर्दा पनि कहाली लाग्छ ।
उनले कोरोना उपचार गराउने अस्पतालहरुमा कुरुवा र आफन्तहरु सुरक्षा र शर्तकता बिना नै संक्रमितको सम्पर्कमा रहने भएकोले आफु र अरु धेरैलाई संक्रमित बनाउने खतरा स्पष्ट देखिएपनि सरोकारवाला निकायको ध्यान पटक्कै नगएको बताए । धेरै संक्रमितहरु खुलेआम हिडिरहेकाले पनि अन्य रोगको उपचार गर्न आउने बिरामी र आफन्तहरु पनि संक्रमित हुने खतरा रहेकोले यस्तो प्रवृत्तिलाई नियन्त्रण नगरे कोरोनाको तेस्रो लहर निकै भयावह हुनसक्ने वताए ।
पोखराको गण्डकी मेडिकल कलेज मात्रै होइन, मणिपाल शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका कोरोनाको उपचार गराउने सबै स्वास्थ्य संस्थाहरुको हाल उस्तै छ । घरवाट निस्केर अस्पताल पुगेपछि संक्रमित भएको एक व्यक्तिले परिवार र बजारमा कतिजनालाई संक्रमित बनाउँछ त्यसको नापजाँच गर्ने कुनै निकाय र मापदण्ड नै छैन । परिणाम स्वरुप लकडाउन खुले लगत्तै संक्रमित र मृतकको संख्या दिनप्रति दिन उकालो चढ्दै छ ।
सबै सर्वसाधरण नागरिकहरुका लागि कोभिड बिरुद्धको खोप दिन नसक्ने निकम्मा सरकारका लागि कोरोना संक्रमितहरुको उपचारको क्रममा चर्को शुल्कका कारण उठिवास हुन पुगेको छ । अस्पतालको शुल्क र औषधि उपचार गर्दा दैनिक एक लाख रुपयाँ सक्दा पनि कतिपय बिरामीको ज्यान पनि नरहने र घरबारी पनि सकिने दुःखद् स्थिति आई परेको छ । बिहान बेलुका गुजाराका लागि जोखिम मलेर संक्रमणको खतरा भएको थाहा पाउँदा पाउँदै काममा खटिने सर्वसाधरणहरुका लागि कोरोना महासंकट सावित बनेको छ । पोखराको धारापानीमा परिवारसँग बस्दै आएकी ३५ बर्षिया कोपिलालाई कोरोना संक्रमित भएपछि रानीपौवास्थित मेडिसिटी अस्पतालमा भर्ना गरियो । करिव एक साता अस्पतालको सघन उपचार कक्षमा भर्ना गर्दा परिवारले औषधि र अस्पतालको शुल्क गरेर दैनिक जसो एक लाख खर्च गरे । विपन्न परिवारका उनीहरुलाई सास रहे ऋण भने तिर्दै गरौला भनेर सवैसँग हार गुहार गरेर उपचारमा आठ लाख रुपयाँ जति सकेपनि अन्तिममा बिरामी पनि रहिनन र सम्पति पनि सकियो ।
कोपिलाको परिवारले भोगेको यस्तो पीडा खोतल्ने हो भने अहिले नेपालका हरेक कुना कुनामा रहेका परिवारमा भेटिन्छ । आफन्तको सास र बस्ने बास सकिएर गहिरो शोक र ऋणमा डुवेकाहरुको आँसु राज्य संचालनको जिम्मेवार बोकेका निकम्मा नेतृत्वले न कहिल्यै देखेको छ । न त महसुस नै गरेका छन । चुनावमा बिकास र समृद्धिका सपना देखेर सत्तामा पुगेकाहरु सत्ताको स्वादमा मदहोस भएर सात पुस्तालाई पुग्ने सम्पति जोड्न हानथाप गरिरहेका छन । जनता उपचार गराउने संस्थाहरुवाट महामारीको वेला लुटिएको लुटियै छन् । तर निकम्मा नेतृत्वहरु भने खोप र औषधिमा कहाँवाट कमिसन आउँछ भनेर जोड घटाउमा व्यस्त छन् ।
करोडौं सर्बसाधरण र निमुखा जनताको देश नेपालमा ल्याईएको सिमित खोप पहुँचवाला र आसेपासेहरुका लागि ठिक्क भएको छ । नेता, सांसद, पार्टीका कार्यकर्ता, खोप लगाउने स्वास्थ्यकर्मीका आफन्त, आसेपासे, पत्रकारहरुको पहुँचमा पुगेपनि निमुखा, मजदूरी गरेर जीविकोपार्जन गर्नेहरुले देख्न समेत पाएका छैनन । खोप आउने आसमा स्वास्थ्य केन्द्रमा घण्टौं चर्को घाममा सेकिएर वस्दा पनि कुनै ठाउँमा सकिएर त कुनै ठाउँमा लगाउनेहरुले नै आफन्त र आसेपासेका लागि लुकाएर राखिदिदा उल्टै भीडमा संक्रमित भएर फर्कन बाध्य छन् ।
खोप केन्द्रहरु पनि संक्रमण फैलाउने केन्द्र
खोप लगाउने स्थानहरु व्यवस्थित नहुँदा र बाक्लो भीड हुँदा कतिपय सर्वसाधरण संक्रमित बन्ने खतरा बडेको छ । खोप लगाउन पुगेका सबै जना भीडमा लसपस भएपनि कतिपय बिना खोप फर्किनुपर्ने बाध्यताले संक्रमित बनेर फर्कन बाध्य छन । सरोकारवाला निकायहरुले खोप लगाउँदा निश्चित दूरी कायम गरेर सुरक्षाका साथ खोप लगाउने वातावरण बनाउनुपर्ने देखिन्छ । खोेप केन्द्रहरुमा दलको दम्भ देखाउँदै कार्यकर्ता र आफन्त र आसेपासेहरुलाई भित्र छिराउने नैतिक हराम निकम्माहरुलाई प्रवेश रोक लगाउन जरुरी छ ।








