नेपालका बिकास योजनामा बाँडिने बजेट आवश्यकता र महत्व भन्दा पनि राजनीतिक शक्ति, सत्ता र पहुँचका भरमा हुने भएकोले अति महत्वपूर्ण क्षेत्र पनि ओझेलमा परेर त्यहाँका बासिन्दाले चरम सास्ती खेप्नु परेको छ । बिकासका अनेक पाटाहरु मध्ये सडक संजाल यातायात सबैभन्दा महत्वपूर्ण माध्यम हो । स्थान र जनतालाई सडक संजालले जोड्दा त्यसको ऐतिहासिक पाटो, लाभान्वित जनसंख्या, सुरक्षा सहजता अनेक दृष्टिकोटबाट हेरिनुपर्छ । तर नेपालका अधिकांश क्षेत्रमा हचुवा र पहुँचका आधारमा सडक बनाउने गरेकाले राज्यको लगानी मात्रै खेर गएको छैन, बर्षेनी धेरै यात्रुले दुर्घटनामा परेर अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।
जनसंख्या, भूगोल, ऐतिहासिक अनेक दृष्टिबाट पक्की फराकिलो सडकको अति नै आवश्यक भएर पनि ओझेलमा पारेर लामो समयदेखि अलपत्र पारिएको अनेक बाटोहरुमध्ये नागडाडाँबाट कार्कीनेटा जोड्ने सडक पनि एक हो । यो सडकको आवश्यकता र महत्व देखेर चार दशकको अवधिमा धेरैले पक्की सडक बनाउने योजना अघि सारे तर बिडम्वना राजनीतिक अस्थिरता र पूर्वाग्रहले यो सडक अझै अलपत्र परेको छ । जसले गर्दा सडक संजालमार्फत बिकास र समृद्धिको भित्रयाउने यस क्षेत्रका लाखौं जनताको सपना अधुरै रहेको छ। गुणस्तरिय पक्की सडक नवन्दा यात्रु र सवारीले सास्ती भोग्नु त परेकै छ । साथै अत्यावश्यक सामान ल्याउन र गाउँका उत्पादन सजिलै बजार लैजान समेत समस्या भएको छ । बिग्रिएको र भत्किएको सडकमा यात्रा गर्दा यस क्षेत्रका जनता असुरक्षा र भयले आंतकित बन्नु परेको छ ।
नेपालमा स्थानीयदेखि प्रदेश र केन्द्रको बिकासको लागि अनेक तहको सरकार हुने संरचना खडा गरिएको छ । नागडाँडा–कार्कीनेटा सडक बनाउन नेपाल सरकारका विभिन्न निकाय र पदाधिकारीहरुले मात्रै होईन, मित्रदेश भारत र चीनले समेत चासो दिएका थिए । तर एउटाले अघि सारेको बिकास योजनामा फरक बिचार बोक्ने दलको सरकार, सांसद र नेताले चासो नदिने, वेवास्ता गर्ने मात्रै होईन योजना नै तुहाई दिने र असफल पार्ने षड्यन्त्रकारी पूर्वाग्राही सोचले गर्दा नेपाल र नेपालीको समान ढंगले बिकास हुन नसकेको कटु सत्य हो । यो सडक पनि यस्तै राजनीतिक पूर्वाग्रहले गर्दा चार दशकदेखि अलपत्र परेको तथ्य यसका अनेक पाटोहरु केलाउँदा स्पष्ट हुन्छ ।
हजारौ शहीद र लाखौं जनताको संर्घषबाट स्थापना गरेको संघिय लोकतान्त्रिक गणतन्त्रको मुल उदेश्य भनेकै बिकासको मुलधारवाट बन्चित हुन पुगेका भूगोल, क्षेत्र, जाति, लिंगहरुलाई बिशेष प्राथमिकताको आधारमा समृद्धिको मुल धारमा ल्याएर समान बिकास गर्नु हो । शहीद र करोडौं जनताले देखेको सपना र अपेक्षा गरेको पनि समान बिकास र समृद्धि हो । त्यसैले राज्यको उच्च ओहोदामा बसेर नीति बनाउने र निर्णय गर्ने जिम्मेवारी लिएकाहरुले दलिय, क्षेत्रीय, भौगोलिक अनेक जे जति पूर्वाग्रहहरु छन् सबै त्यागेर आवश्यकता र महत्वका आधारमा बिकास र योजनाका काम अघि बढाउनुको बिकल्प छैन ।
फेरि पनि उहि पुरानै पूर्वाग्रहीको रोग पालेर तेरो मेरो भनेर काम गर्ने प्रवृत्ति नत्याग्ने हो भने देश र जनता विकासको मुलधारवाट बन्चित त हुने नै छन् साथै एक दिन तिनै निरास जनताले बिद्रोह गरी देशको ढुकुटीमाथि रजगज गर्नेहरुलाई खरानी बनाउनेछन् । त्यसैले फेरि पनि कुनै पनि बिकासका योजनाले नागडाँडा–कार्कीनेटा जोड्ने सडकले चार दशकसम्म अलपत्र परेजस्तै घटना दोहोरिन हुँदैन । जतिसक्ने चाँडो गुणस्तरिय पूर्वाधार निर्माण गरेर जनताको मन जित्ने काम गर्न जरुरी छ ।








