काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्साल , काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा ५ लाख ४० हजार आवेदकले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आईपीओका लागि आवेदन दिने कुल आवेदकमध्य ५ लाख ११ हजार २१६ जनाको हात भने खाली भएको छ ।

कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकोमा २ हजार १६९ जनाको आवेदन रद्घ भएको विक्री प्रबन्धको भनाई छ । रितपूर्वक आवेदन दिनेहरुको हकमा भने ५ लाख ९ हजार ४७ जना आवेदकको हात खाली भएको छ ।

प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ ।

 विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । हाल कम्पनीमा संस्थापक तर्फको मात्र  १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।