उखु बेचेको बक्यौता उठाउन सयकडा तीनका दरले ८–१० हजार ऋण लिएर आन्दोलनका लागि काठमाडौं आएका उखु किसानको खल्ती रित्तिएको छ, स्वयम्सेवीहरूले खुवाएको खाना खाएर ज्यान बचाएका छन्, पशुपति धर्मशालामा रात बिताउँछन्, आन्दोलनमा आएका गगनदेव राय यादवको घर–जग्गा मलंगवाको कृषि विकास बैंकले लिलामीमा चढाएको छ

आफूले उत्पादन गरेको उखुको बक्यौता उठाउन १३ दिनदेखि राजधानीको सडकमा आन्दोलन गरिरहेका तराईका किसानहरू बेखर्ची हुन थालेका छन् । सर्लाहीबाट आएका गौरीशंकर पंडितले तीन वर्षअघि अन्नपूर्ण चिनी उद्योगलाई बेचेको उखुको १ लाख ७४ हजार रुपैयाँ उठाउन गाउँबाट ८ हजार रुपैयाँ ऋण लिएर काठमाडौं आएका थिए । ‘अब त गोजीमा १ सय ३० रुपैयाँ मात्र बाँकी छ,’ उनले भने, ‘सबै पैसा कोठाभाडा र खानामा खर्च भयो, यहाँ पैसा नपाए त काठमाडौं आउँदा लिएको ऋणसमेत तिर्न सक्दिनँ ।’ सयकडा ३ रुपैयाँका दरले ऋण काढेर काठमाडौं आएका उनी बिहान र बेलुका खाना तथा दिउँसोको खाजा विभिन्न व्यक्ति र समूहले खुवाइरहेकाले अझ सजिलो भएको बताउँछन् । अरूको जग्गा भाडामा लिएर उखुखेती गरेका उनले दुःखको कमाइ पनि नपाउँदा समस्या बढ्दै गएको बताए । ‘छोरी ठूली भइसकेकी छे । बिहे गर्ने कुरा आइरहेको छ, तर पैसा नभएर केही गर्न सकिएको छैन,’ यादवले भने ।

सर्लाहीबाटै उखुको पैसा लिन काठमाडौं आएका हरिन्द्र यादवले पनि साथमा ल्याएको पैसा सकिएको बताए । ‘गाउँबाट सयकडा ३ रुपैयाँले ऋण काढेर ८ हजार रुपैयाँ बोकेर काठमाडौं आएको थिएँ,’ उनले भने, ‘अहिलेसम्म उखुको पैसा पाउने कुरा सुनेको छैन ।’

अन्नपूर्ण चिनी मिललाई उखु दिएका उनीसँग बेचेको पैसा कति आउँछ भन्ने हिसाब पनि छैन । तर, साथीभाइ र मिलका कर्मचारीले ६५ हजार रुपैयाँ लिन बाँकी रहेको बताएका छन् । ‘मलाई हिसाब गर्न आउँदैन । साथीभाइ र मिलका कर्मचारीलाई सोध्दा ६५ हजारको उखु भयो भन्थे, तर अहिलेसम्म पैसा पाएको छैन,’ उनले भने । साथीभाइको पनि पैसा सकिन थालेको सुनेका उनले काठमाडौंको अबको बसाइ कष्टकर हुने देखेका छन् । ‘बिहान–बेलुका खाना खान त समस्या छैन । अरूले खुवाइरहेका छन् । तर, मन लागेका वेला यसो केही खानलाई पैसा छैन । अरूले जतिखेर ल्याएर जे दिन्छन्, त्यही खानुपर्ने बाध्यता छ,’ उनले भने ।

सर्लाहीकै रवीन्द्र यादव १० हजार बोकेर काठमाडौं आएका थिए । अहिले त्यो पैसा सकिएको छ । उनको अन्नपूर्ण मिलबाट ४ वर्षदेखिको अढाई लाख रुपैयाँ लिन बाँकी छ । ‘मिलको पैसा आए त काठमाडौं आउँदाको ऋण तिरिन्थ्यो । गाउँमा अलि–अलि ऋण छ । त्यो पनि तिरेर यताउता व्यवहार मिलाउन हुन्थ्यो,’ उनले भने, ‘अहिले त काठमाडौंमा बस्नै समस्या हुन थालेको छ ।’ उनले पैसा नपाएसम्म धर्ना बस्नुको विकल्प नभएको बताए ।

 उखु किसान संघर्ष समिति, सर्लाहीको नेतृत्वमा अन्नपूर्ण चिनी मिल र महालक्ष्मी सुगर मिलबाट पीडित एक दर्जन किसान २६ मंसिरमा काठमाडौं आएका थिए । पैसा पाउने आसमा ७० वर्ष नाघेका गगनदेव राय यादव पनि  मंसिर–पुसको जाडोको परवाह नगरी यो टोलीमा समावेश छन् । 

उखुखेती गर्न र घरायसी व्यवहार मिलाउन कृषि विकास बैंक, मलंगवाबाट लिएको ऋण तिर्न नसकेका भन्दै गगनदेव राय यादवको घर–जग्गा लिलामीको सूचना निस्किएको छ । काठमाडौंमा आन्दोलन चलिरहेका वेला बैंकले २९ मंसिरमा यादवको घर–जग्गा लिलामीको सूचना निकालेको हो । बैंकको सूचनाअनुसार गगनदेव राय यादवले ९ लाख ५० हजार रुपैयाँ साँवा र ६६ हजार ३ सय ३४ रुपैयाँ ब्याज गरी कुल १० लाख १६ हजार ३ सय ३४ रुपैयाँ तिर्नुपर्नेछ । सूचना निस्केको २१ दिनभित्र कर्जा भुक्तानी नगरे घर–जग्गा लिलाम हुने सूचनामा उल्लेख छ । उनले बैंकमा १६ कट्ठा जग्गा र त्यसमा बनेको जीर्ण घर धितो राखेका थिए । ‘उखुले उठिबास लगाउने भयो,’ शुक्रबार बिहान मलिन अनुहारमा उनले भने, ‘यता मिलबाट साढे ४ लाख रुपैयाँ लिन बाँकी छ । त्यो पैसा पनि सबै मेरो होइन, आधा रकम जग्गाधनीलाई बुझाउनुपर्छ । त्यो पैसा आए बैंकको ऋण अलिकति तिरेर घर–जग्गा जोगाउन हुन्थ्यो ।’

घर–जग्गा नै लिलामीमा चढेको सूचना आएपछि उनमा आन्दोलन गर्ने ऊर्जा पनि घटेको छ । तर, पैसा नलिई घर नजाने अठोट थप बलियो भएको उनले बताए । ‘घरपरिवारका मान्छेले घरको भित्तामा बैंक धितो राखेको जग्गा र घर लिलामीको सूचना टाँस गरेको खबर फोनमा जानकारी दिएका छन् । त्यसैले अब यतिकै घर गएर हुँदैन,’ उनले भने, ‘अब जेजति भयो–भयो । पैसा लिएर जाने हो, नत्र यहीँ मरिन्छ ।’

उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले आन्दोलन गरेर पैसा उठाउन काठमाडौं आएको थाहा हुँदाहुँदै बंैकले धितो लिलामीको सूचना निकालेर किसानलाई अन्याय गरेको बताए । ‘हामी यहाँ मिलको पैसा लिन आएका छौँ । यो पैसा लगेर सबै किसानले ऋण तिर्ने योजना बनाएका छौँ,’ रायले भने, ‘यस्तो वेला बैंकले सूचना निकालेर हामीलाई मानसिक तनाव दिन खोजेको छ । यो अन्याय हो ।’

‘हाम्रो टिम नेपाल’ र ‘मारवाडी समाज’को साथ
आन्दोलनमा सहभागी हुन आएका अधिकांश किसान गौशाला–पशुपति धर्मशालामा बसेका छन् । मारवाडी सेवा समाजद्वारा सञ्चालित धर्मशालाको कोठाभाडा दैनिक ३ सय ८० रुपैयाँ तिरिरहेका छन् । उनीहरूलाई बिहान नौ बजे मारवाडी समाजले खानाको व्यवस्था गरेको छ । समाजका सदस्य महेन्द्र अग्रवालका अनुसार सुरुका दिनबाटै उखु किसानलाई बिहानको खाना खुवाइरहेको छ । ‘यहाँ ७५ जना किसान छन् । उनीहरूलाई बिहानको खाना हामीले व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘किसानहरू बसुन्जेलसम्म बिहानको खाना व्यवस्था गर्छौँ ।’

आन्दोलनरत उखु किसानलाई हाम्रो टिम नेपालले पनि सहयोग गरिरहेको छ । संस्थाका अध्यक्ष विमल पन्तका अनुसार किसानलाई गौशाला–पशुपति धर्मशालाबाट बिहान ११ बजे माइतीघरस्थित धर्नास्थलसम्म लैजान र ३ वजे गौशालामा छोड्न २ वटा गाडी व्यवस्था गरिएको छ । ‘दुवै गाडीमा खचाखच राखेर किसानहरूलाई धर्नास्थलसम्म लैजाने र त्यहाँबाट पुनः गौशाला धर्मशालासम्म छाड्ने गरेका छौँ,’ उनले भने ।

किसानलाई दिउँसो १२ बजे चिया र बेलुकाको खाना धर्मशालामा लगेर खुवाउँदै आएको पन्तले बताए । ‘आन्दोलन सुरु गरेको तेस्रो दिनबाटै हामीले यो सेवा दिन थालेका हौँ । उहाँहरूको आन्दोलन चलुन्जेल हामीले सेवा गर्नेछौँ,’ उनले भने । बिहीबार साँझ ७ बजे धर्मशालाको कोठा नम्बर १०३ मा पुग्दा किसानहरू साँझको खानाको प्रतिक्षामा आराम गरिरहेका थिए । आठ बजेतिर खाना आएपछि सबै किसानहरू कोठाबाट निस्केर धर्मशालाको भुइँतलामा झरे, जहाँ गाडीमा खाना लिएर हाम्रो टिम नेपालका स्वयंसेवक आएका थिए । भुइँतलाको प्यासेजमा लाइन लागेर किसानहरू बसे, उनीहरूलाई कागजको प्लेट र एक–एक बोतल पानी उपलब्ध गराइयो । त्यसपछि स्वयंसेवकहरूले खाना, तरकारी, दाल दिएका थिए ।

उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायले बिहान र बेलुकाको खानाको प्रबन्ध हुँदा धेरै सहज भएको बताए । ‘यहाँ बस्नलाई राम्रै व्यवस्था छ । भाडा कम लागोस् भनेर एउटा कोठामा चारजनासम्म सुत्छौँ ।’ खान, बस्न व्यवस्थापन भइरहे पनि काठमाडौंमा चिसो बढ्दै गर्दा समस्या हुन थालेको उनले बताए । ‘काठमाडौंको जाडोमा दिनभर आन्दोलन गर्न गाह्रो हुन थालेको छ । सरकारले हाम्रो समस्या समाधान गरिदिए घर जान हुन्थ्यो,’ उनले भने ।