पोखरा |
ग्लोबल बालबाटिका मन्टेश्वरी प्रि–स्कुलको १० औँ दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा विद्यार्थीहरूलाई दीक्षित गरिनुका साथै विद्यालयमा स्थापना कालदेखि कार्यरत ८ जना शिक्षक तथा कर्मचारीहरूलाई विशेष सम्मान गरेको थियो ।
हिशानका केन्द्रीय उपाध्यक्ष एवं विद्यालयका संस्थापक अध्यक्ष बाबुराम पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला प्रमुख अतिथि थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेहेन्द्रेश्वर कोइरालाले बालबालिकाको प्रारम्भिक शिक्षा नै उनीहरूको भविष्यको आधारशिला भएको बताए । उनले भने, “ग्लोबल बालबाटिकाले मन्टेश्वरी पद्धति मार्फत नयाँ सन्देश दिँदै जीवन जिउने कला, ज्ञान, सीप र व्यवहार सिकाएको छ । यो भावी पोखराका लागि गौरवको विषय हो।” उनले दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै सम्मानित शिक्षक तथा कर्मचारीहरूलाई बधाई समेत ज्ञापन गरे।
यस्तै, सभापति बाबुराम पन्तले विद्यालय स्थापनाको औचित्यमाथि प्रकाश पार्दै यो संस्था रहरले भन्दा पनि आवश्यकताले जन्मिएको बताए। “हामीले भविष्य सोचेर यो यात्रा सुरु गरेका हौँ, जहाँ अनुशासन र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता गरिएको छैन,” उनले भने, “ग्लोबल कलेजियटको भगिनी संस्थाका रूपमा यसले समाजप्रति आफ्नो उत्तरदायित्व सधैँ निभाउनेछ। हाम्रा अभिभावकहरू नै हाम्रा अमूल्य प्रेरणाका स्रोत हुन्।”
त्यसैगरी समारोहलाई सम्बोधन गर्दै विद्यालयकी प्रिन्सीपल बविता पालिखेले विद्यालयले स्थापना कालदेखि हालसम्म गरेका विभिन्न शैक्षिक गतिविधिहरू प्रस्तुत गर्नुका साथै स्थापना देखि हालसम्म आइपुग्दा विद्यालयलाई साथ र सहयोग दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरू प्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।
प्रिन्सीपल पालिखेले विद्यार्थीहरूलाई काँचो माटोको संज्ञा दिँदै उनीहरूको सर्वाङ्गीण विकासमा ग्लोबल बालवाटिकाले सधैं अहम् भूमिका निर्वाह गर्दै आएको जानकारी गराइन् । “हरेक बालबालिका जन्मजात नै केही न केही विशेष क्षमता बोकेर आएका हुन्छन्,” उनले भनिन्, “विभिन्न क्षमता भएका विद्यार्थीहरूको त्यही अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनु नै हाम्रो मूल उद्देश्य हो। यही कारणले गर्दा नै आज अभिभावकहरूको रोजाइमा ग्लोबल बालवाटिका परेको छ।”
बालबालिकाको शिक्षामा परिवारको भूमिकाबारे चर्चा गर्दै उनले घरलाई पहिलो पाठशाला र अभिभावकलाई पहिलो गुरु बताएकी थिइन् । असल शिक्षा, मानवता, दया, माया र प्रेम जस्ता आधारभूत कुराहरू बालबालिकाले परिवारबाटै सिक्ने भएकाले अभिभावकहरूले उनीहरूको भावना र विकासमा विशेष ध्यान दिनुपर्नेमा उनले उल्लेख गरिन ।
उक्त समारोहमा विद्यालयमा स्थापनाकादेखि निरन्तर सेवा गरिरहेका ८ जना शिक्षक तथा कर्मचारीहरूलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा शिक्षकहरू अन्जु राई, रुकू पन्त र लालमाया गुरुङ छन्। त्यसैगरी, उत्कृष्ट सेवा पु¥याउने भान्सेमा जमुना थापा बाल सहयोगीहरु सीता रखाल क्षेत्री, देवी खाँड र हुममाया श्रेष्ठ तथा सुरक्षा गार्ड थमन थापालाई प्रशंसापत्र, दोसल्ला र करुवा सहित सम्मान गरियो।
प्रतिकूल परिस्थितिमा पनि संस्थालाई साथ दिने कर्मचारीहरूको योगदान अतुलनीय रहेको भन्दै विद्यालय प्रशासनले उनीहरूको समर्पणको उच्च प्रशंसा गरेको थियो ।
समारोहमा युकेजीका विद्यार्थीहरूले गीत गाउने, नृत्य प्रस्तुत गर्नुका साथै ‘अदृश्य भारी’ नामक सन्देशमूलक नाटक समेत प्रस्तुत गरेका थिए। विद्यार्थीहरूलाई प्रमुख अतिथि र अन्य अतिथिहरूले दीक्षान्त प्रमाणपत्र वितरण गरेका थिए।


कार्यक्रममा ग्लोबल कलेजियट स्कुलका निर्देशक नन्दलाल त्रिपाठी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, गणित शिक्षा परिषद् गण्डकीका अध्यक्ष वेदप्रसाद शर्मा, प्रिन्सिपल बबिता पालिखे र भाइस प्रिन्सिपल सुरक्षा श्रेष्ठ लगायतको उपस्थिति थियो । अभिभावकहरूका तर्फबाट डा. प्रविण त्रिपाठी र डा. सिर्जना शर्माले आफ्नो भनाइ राखेका थिए । उक्त समारोहको सञ्चालन शिक्षकद्वय बसन्ती बस्नेत र जेनिता राईले गरेकी थिइन् ।