पोखरा २३, कार्तिक ।
पर्वत र स्याङ्जा जिल्लामा अवस्थित डहरे देउरालीमा १ सय फिट भन्दा अग्लो विशाल भैरवको अर्धकदको आकृति फेला पारेका योगी प्रकट अनन्द ५४ वर्षको उमेरमा शनिबार राति आफ्नै निवासमा मृत्यु भएको छ ।
वि.सं. २०८१ असारमा डहरेदेउरालीमा ध्यान गर्ने क्रममा साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताएका थिए । सदियौंदेखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन ।
“डहरे देउराली”को आश्रम स्थलबाट भवानी मन्दिर जाने विच बाटोमा रहेको गणेश मन्दिरबाट स्पष्टसँग भगवान भैरवको अर्धकद शिर देख्न सकिन्छ ।
डहरेदेउरालीमा करिब १ वर्ष ध्यान र कुटीमा ४६ दिन मौन ध्यान बसेको श्री मोक्षद्वारी वालसिद्ध योगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले बताए । ध्यानमा बस्दा डहरेदेउरालीमा भएका शक्तिपिठसँग नजिक भएको गौतमले जानकारी गराउथे ।
पुतलीबजार ७, ठुलाहिडी, स्याङ्जामा पिता खिमलाल गौतम र आमा भिमकला गौतमको कोखबाट २०३८ साल भाद्र ७ गते जन्मिएका पिताम्बर गौतम (योगी प्रकट आनन्द) हाल पोखरा ७, बैदाममा बस्दै आएका थिए ।
उनका ३ दाजुभाई ६ दिदी बहिनी, १ श्रीमती, १ छोरा, १ छोेरी र १ बुहारी रहेका छन् । पोखरामा रहेर सफल पर्यटन व्यवसायीको रुपमा मात्र नभई सक्रिय रुपमा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका आनन्द पछिल्लो समय आध्यात्मिक क्षेत्रको क्रियशिलतालाई तिव्र पारेका थिए ।
उनले देशका विभिन्न धार्मिक स्थानहरुमा जाने, ध्यान गर्ने, साधक तथा तपस्विहरुसँग भेटघाट गर्ने गरेका थिए । आनन्द गजल संग्रह, लोक दोहोरी गीत लगायत साहित्यिक क्षेत्रमा समेत कलम चलाएका थिए ।
पोखरा–६ वैदाम, लेकसाइड निवासी योगी आनन्द क्यान्सर रोगबाट पीडित थिए ।
- योगी प्रकट आनन्दसँग लिएको अन्तरवार्ता







