पोखराः
पोखरा महानगरपालिका वडा नं. २५ लाई समुन्नत वडा वनाउन अन्तरक्रिया कार्यक्रम गरी वडाले सल्लाह र सुझाव संकलन गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २५ ले गरेको कार्यक्रममा हाल सम्मको प्रगति, बिकास निर्माण र आ. व. २०८२÷८३ को बजेट को सम्बन्धमा वडाका राजनीतिक दल र पुर्व अध्यक्षहरु सङ्ग अन्तरक्रिया तथा छलफल भएको हो । कार्यक्रममा वडालाई उत्कृष्ट र समुन्नत वडा बनाउन महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त भएको पोखरा महानगरका प्रवक्ता एवम् वडा नं. २५ का वडा अध्यक्ष मोति तिमिल्सिनाले जानकारी गराए ।
प्रवक्ता एवम् वडा अध्यक्ष तिमिल्सिनाका अनुसार आ.व. २०८२÷८३ मा बजेटको प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, युवा खेलकुद, वन तथा वातावरण, लक्षित कार्यक्रमलाई योजना सहित अगाडि सारेको बताए ।
जसमा, शिक्षातर्फ वडाले आगामी आ.व. को बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी शिक्षा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । जस अन्तर्गत वडा भित्रका ९ वटै सामुदायिक बिधालयका बालबिकाश कक्षा सिइडीलाई बालमैत्री बनाइने र अतिरिक्त क्रियाकलाप सिकाउने २ जना घुम्ती शिक्षकका लागि आवश्यक बजेट बिनियोजन गर्ने, स्वास्थ तर्फ स्वीकृत सहरी स्वास्थ प्रबद्र्धन केन्द्रमा मेडिकल अधिकृत (डाक्टर) र उच्चस्तरीय ल्यावको व्यवस्था भैसकेको, ल्याबलाई छिट्टै संचालनमा ल्याउने र बिमा कार्यक्रम संचालनको लागि पहल गरिने छ भने घुम्ती शिविरको रुपमा “वडा नागरिक आरोग्य कार्यक्रम” लाई निरंतरता दिइनेछ र भौतिक पुर्वाधार तर्फ अधुरा र बिपद जन्य योजनालाई प्राथमिकतामा राखिएको, ग्रामीण क्षेत्र र कुनै पनि योजना नपरेका टोल हरुलाइ प्राथमिकतामा राखी सडक, ढल, सिचाइ, वडाको सौन्दर्यकर्ण, उज्यालो वडा आदिका लागि आवश्यक बजेट बिनियोजन हुने उनले बताए ।
त्यसैगरी कृषि तर्फ “एक घर एक घार मौरी“ को योजना संचालन भैरहेकोमा यसलाई थप प्रभावकारी बनाउन मौरी शिक्षा र मौरिपालन तालिम संचालन गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि हाट बजार स्थापनाका लागि आवश्यक तयारी गरिने, युवा लक्षित कार्यक्रम, खेलकुद पर्यटन बिकास र युवा रोजगार लक्षित कार्यक्रम र मेला महोत्सव सहयोगका लागि पनि बजेट बिनियोजन गर्ने, लक्षित वर्गका लागि आत्मनिर्भर र सक्षम बनाउन आयमुलक र सिपमुलक कार्यक्रम संचालन गर्न आवश्यक बजेट छुट्याउनुका साथै, वन तथा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रबद्र्धन, सर्प र लाटोकोसेरो संरक्षणका लागि वडा पन्छी र वडा सर्प घोषणा गरि लोपोन्मुख वन्यजन्तुको संरक्षण गरिने उनले उल्लेख गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं २५ हेमजाले आवश्यक सल्लाह र सुझावको लागि सम्पर्क गर्न समेत आह्वान समेत गरेको छ ।