प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार

पोखराः एउटा निर्माण योजनाको नक्सा कतिवटा हुन्छ ? उतर आउछ एउटा। अनि निर्माण अबधि कति होला? योजना हेरी दुईदेखि पाँच बर्षसम्म। तर पर्यटकिय नगरी पोखराको पृथ्वीचोकस्थित बसपार्कको यथार्थता भने बेग्लै छ। करिव चार दशकअघिदेखि आधुनिक बसपार्क बनाउन करिब आधा दर्जन नक्सा फेरिएपनि अबस्था भने उस्तै छ।
पहिला सरकार परिवर्तनसंगै पोखरा उपत्यका नगरविकास समितिमा हुने राजनीतिक नियुक्तीले बसपार्क निर्माणको काम अघि बड्न नसकेको हो। समितिमा जुन अध्यक्ष आएपनि सात करोड रुपयॉ छुट्टाईएको बसपार्क निर्माणलाई पहिलो प्राथमिकता दिने गर्छन्। तर योजनाको अध्ययन, तयारी गरेर सुकुम्वासी समस्या सल्टाउन नपाउ‘दै बाहिरिन पुग्छन।


पश्चिमाञ्चलको सदरमुकाम पोखरामा बसपार्क बनाउन ०३२ सालमा सरकारले २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। त्यसपछि मुआव्जा बितरण, सुुकुम्वासी ब्यबस्थित नगर्दा निर्माणमा अबरोध भएपनि समितिमा आउने अध्यक्ष पिच्छे नमुना फेरिने हुनाले काम अघि बड्न सकेको छैन।
भौत्तिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गतको यो समितिमा सरकार र मन्त्रालय परिवर्तन हुने बितिकै पुरानो अध्यक्ष हटाएर नयॉलाई नियुक्ती गरिन्थ्यो। ०५० सालदेखि अहिलेसम्म समितिमा बिभिन्न दलका २० भन्दा बढि अध्यक्ष बनिसकेका छन्। तीमध्ये कांग्रेसले ९, एमालेले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, एकिकृत माओबादीले २ र मधेशी जनअधिकार फोरमले १ पटक समितिमा नेतृत्व गरिसकेको छ। राजनीतिक नियुक्ति गर्ने थलो बनेको हुनाले कुनै अध्यक्षले तीन महिना त कुनैले चारबर्षसम्म नेतृत्वको मौका पाएका छन्।


पुरानो पदाधिकारीले बनाएको बसपार्कको नमुना नयॉले मन नपराउ‘दा अहिलेसम्म चार नक्सा र योजना बनिसकेका छन्। ०४५ मा तत्कालिन अञ्चलाधिश महेन्द्रकुमार चौधरीले बसपार्कका २ थरी नक्सा बनाए। ती मध्ये एउटालाई कार्यान्वयन गर्ने निर्णय गरेपनि पञ्चायती शाषन ढलेपछि उनी पनि जिम्मेबारी मुक्त भए।
प्रजातन्त्रको बहालीपछि ०६० मा राप्रपाका क्षेत्रबहादुर केसीले १० करोड ४३ लाख रुपयॉ लागतसहितको बसपार्कको अर्को नमुना तयार गरे। तर उनले काम गर्न नपाउ‘दै मनोनित गर्ने सरकार परिवर्तन भएपछि ०६१ मा कांग्रेसका बिष्णुप्रसाद बास्तोलाले बसपार्कको अर्को नमुना बनाए। बॉस्तोलाले ५ करोड ८० लाख लागत योजनाको बसपार्क बनाए तर पुरा काम नगर्दै पदावधि सकियो।

यसैगरी ०६४ मा माओबादीका विश्वप्रकास लामिछाने अध्यक्ष भए। उनलाई पनि अघिल्ला पदाधिकारीले बनाएको नमुना मन परेन। अर्कै नमुना तयार गरि कार्यकक्षको भित्तामा टॉसेर राखे। १ सय २५ रोपनी क्षेत्रफलमा बसपार्क बनाउने उनको योजना कार्यान्वयन नगर्दै समितिबाट बाहिरिए।
समितिमा माओबादीका जीतवहादुर गुरुङ अध्यक्ष बने। उनले पनि पहिलो प्राथमिकता बसपार्कलाई नै दिए। पर्यटकिय नगरीमा तला तलाको बसपार्क बनाउने लक्ष्य लिएका उनले काम गर्न नपाउदै बाहिरिए।


पश्चिमाञ्चलको सदरमुकाम पोखरामा बसपार्क नहु‘दा यात्रु, बटुवा, सवारीचालक र सर्बसाधरणले दुःख पाएका छन्। बसपार्कका लागि भनेर छुट्टाईएको जग्गामा सुकुम्वासी बस्नेक्रम बडेर सॉघुरो बन्दै गएको छ। तीन राजमार्गको संगमस्थल यहॉ बसपार्क अभावमा पर्यटकसहित हजारौं यात्रुले असुबिधा भोग्नु परेको छ। दैनिक ५ सय बस र माईक्रोबस आउजाउ गर्ने पोखरामा सडकबाट यात्रु चढाउने र ओराल्ने गरिएका कारण दुर्घटना बढिरहेको ट्राफिक प्रहरीको भनाई छ। भएको बसपार्कभित्र गाडी लगेर यात्रु राख्ने र ओराल्ने सुबिधा छैन। सडकमै रोकेर यात्रु ओसार्ने र झार्ने गरिएका कारण दुर्घटना सवारी जाम र दुर्घटनाका घटना बढिरहेका छन्।
पोखरा बसपार्कमा दैनिकी पृथ्वीराजमार्ग १४ सय, पोखरा बस ३ सय ७८, स्थानीय २ सय, वेगनास, १ सय ५०, गण्डकी यातायातका १ सय, अन्यन्त्रबाट आउने सवारी ५ सय गरी लगभग ३ हजार बसहरु टन ओभर गर्ने गर्छन्।