इटहरी/ एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल यो गीतलाई यतिबेला छायांकन भइरहेको फिल्म ‘माईतीघर’मा पनि समावेस गरिँदै छ भने आजबाट यो गीतको भिडियो छायांकन सुरु भएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ । जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् ।

परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनी को स्वरमा यो गीत पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । अहिले भिडियोमा पनि कहीँकतै कमजोरी नहोस् भन्नका लागि यो गीत छायांकनको लागि मात्रै ४ दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए ।

फिल्मका प्रमुख २ अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा यो गीतमा फिचर्ड हुनेछन् । हिन्दूहरूको महान पवित्र स्थल बागलुङको कालिका मन्दिरमा छायांकन सुरु भएको यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन् । सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ ।

यो गीत समावेश फिल्म माइतीघरमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ । मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।