फागुन २७, पोखरा ।
गण्डकी प्रदेश समन्वय परिषद् कतारले यही चैत २ गते शनिबार पोखरामा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
चिप्लेढुंगा मानवअधिकार चोकमा विहान ८ बजेदेखि बृहत रक्तदान कार्यक्रम गर्ने गण्डकी प्रदेश समन्वय परिषद, कतारका अध्यक्ष अजय विश्वकर्माले जानकारी गराए । उनले करिब १ जना भन्दा बढी उपस्थित गराउने लक्ष्य रहेको बताए ।
धार्मिक मान्यता अनुसार पनि दान गर्नु उत्तम कर्म मानिने र विज्ञानले पनि एकले दान गरेका रगत वा शरीरका अंगहरु अर्को व्यक्तिको शरीरमा लगाएर जीवन जोगाउने देखाउछ । यसकारण रक्तदान अति महत्वपूर्ण दान वा कर्म भएको र अहिले पोखरामा रगतको अभावको अवस्था देखिएको हुँदा पनि रक्तदान कार्यक्रम गरिएको उनको भनाई रहेको थियो । मानिस भएर जन्मिए पछि आफ्नो लागि त जसले पनि केहि न केहि गर्छ, तर अरुको लागि भने सिमित व्यक्तिहरूले मात्र गरेको पाइन्छ । हाम्रो जीवनले अर्थपूर्ण पाउनको लागि अरुको सेवामा पनि तप्पर रहनुपर्छ अनिमात्र खुशी र सुखी रहन सकिने बताउँदै बृहत रक्तदान कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन सबैमा अनुरोध गरेका थिए ।
“हाम्रो अभिभारा, समृद्ध गण्डकी प्रदेश”को मुल नारा सहित स्थापित गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा हुने उक्त कार्यक्रमको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, पोखरा रहेको छ भने समन्वयमा कास्की आदर्श समाज, नेपाल र विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की रहेका छन् ।
त्यसैगरी आवद्ध संस्थाहरुमा कास्की आदर्श समाज कतार, पर्वत समाज कतार, गोरखा सेवा समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ, तनहुँ सेवा समाज दोहा कतार, स्याङ्जा सहयोग समाज कतार, लमजुङ सेवा समाज कतार, बागलुङ सेवा समाज दोहा कतार र नवलपुर सेवा समाज दोहा कतार रहेको अध्यक्ष अजयले जानकारी गराए ।